धार्मिक पर्यटन प्रवर्द्धन गर्दै भुवरभवानी मेला

बाँकेको राप्तीसोनारी–३ बैजापुरस्थित भुवरभवानी माघी मेला कठायतको जस्तै धेरै दर्शनार्थीको धार्मिक केन्द्र बनेको छ । थारू समुदायको सबैभन्दा ठूलो चाड माघीलाई लक्षित गरी प्रत्येक वर्ष आयोजना हुने मेलामा स्वदेशीलगायत भारतीय दर्शनार्थीको भीड लाग्ने गरेको छ । 

राँझा । नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी दीपबहादुर कठायत प्रत्येक वर्ष माघ १ गते भुवरभवानी मेला पुग्ने गर्छन् । “राप्ती नदीमा नुहाइधुहाइ गर्यो, अनि भुवरभवानी मन्दिरमा पूजा गरी दिनभर मेला हेरेर साँझ फर्किन्छाैं, यो हाम्रो नियमितजस्तै भएको छ”, कठायतले भन्नुभयो ।

बाँकेको राप्तीसोनारी–३ बैजापुरस्थित भुवरभवानी माघी मेला कठायतको जस्तै धेरै दर्शनार्थीको धार्मिक केन्द्र बनेको छ । थारू समुदायको सबैभन्दा ठूलो चाड माघीलाई लक्षित गरी प्रत्येक वर्ष आयोजना हुने मेलामा स्वदेशीलगायत भारतीय दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

भुवरभवानी मन्दिर परिसरमा हरेक वर्ष माघे सङ्क्रान्तिको अघिल्लो दिनबाट मेला सञ्चालन हुँदै आएको छ । विगतको वर्षझैं यस वर्ष पनि स्थानीय बासिन्दाको व्यवस्थापनमा मेला सञ्चालनमा ल्याइएको मेला आयोजक समितिका अध्यक्ष तुलसीराम थारूले बताए ।

“भुवरभवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्नसके आस्थाको गन्तव्य बन्न सक्छ”, संयोजक चौधरीले भने, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।”

उनका अनुसार, २०१३ सालमा स्थापना भएको भुवरभवानी मन्दिरमा वर्षमा तीन पटक विशेष पूजासँगै माघ १ गतेबाट ३ गतेसम्म विशेष पूजाआजासहितका मेला लाग्ने गरेको छ । चार दिनसम्म चल्ने मेलामा व्यापार व्यवसायका साथै मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

करीब एक लाख भक्तजनले अवलोकन गर्ने मेलामा थारू समुदायको कला संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिसमेत हुने गरेको मेलाका संरक्षक एवं वडा नं ३ का अध्यक्ष गङ्गाराम थारूले बताए । उनले राप्ती नदीमा सिक्टा सिँचाइ आयोजनाले पुल बनाई दिएपछि दर्शनार्थीको सङ्ख्या बढ्दै गएको बताए ।

राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले भुवरभवानी मन्दिरको ऐतिहासिक महत्व रहेको बताउँदै यसको संरक्षणमा गाउँपालिका गम्भीर रहेको बताउँछन् । पुर्खौंदेखि लाग्दै आएको मेलाको महत्त्वलाई कसैले पनि मेट्न नसक्ने उनको भनाइ छ । रासस