बैशाख २ गतेबाट बुद्ध एयरले भारतकाे काेलकातामा साताको ३ उडान भर्ने

आज पत्रकार सम्मेलन गर्दै एयरलाइन्सका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले २०७६ बैशाख २ गतेबाट बुद्ध एयरले सीधा उडान भर्न लागेको जानकारी दिए ।

काठमाडौ । बुद्ध एयरले भारतको काेलकातामा साताको ३ पटक उडान भर्ने भएको छ । आज पत्रकार सम्मेलन गर्दै एयरलाइन्सका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले २०७६ बैशाख २ गतेबाट बुद्ध एयरले सीधा उडान भर्न लागेको जानकारी दिए । उनले बङ्गाली पर्यटकलाई लक्ष्य गरी उडान सुरु गर्न लागिएको पनि बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काेलकाता पुग्न  १ घण्टा ४० मिनेट लाग्ने छ ।

बस्नेतले साेमबार,बुधबार र शुक्रबार गरी साताकाे ३ दिन उडान हुने र एटीआर ७२ बाटै उडान भर्ने याेजना रहेको जानकारी दिएका छन् । यसअघि बुद्धले भारतकाे बनारसमा उडान भर्दै आएकाे छ ।

बुद्धले पर्यटकीय यात्रुलाई विशेष जोड दिने तयारी रहेको जनाएको छ । हाल साताको करिब ८ सय उडान गर्दै आएको बुद्धले कोलकतामा ६ उडान रहने बताइएको छ । कोलकतामा उडान सफल भएपछि २०७७ साल भदौदेखि दक्षिण एसियाका विभिन्न महानगरहरुमा जेट विमानहरुबाट उडान सञ्चालन गर्ने जनाएको छ ।

तत्कालका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अन्तर्राष्ट्रिय उडान भर्ने र पोखरा क्षेत्रीय विमानस्थल सञ्चालनमा आएसँगै २०७८ साल भदौबाट पोखराबाट उडान भर्ने तयारी रहेको अध्यक्ष बस्नेतको भनाइ छ ।