हवाई रुट दिन आनाकानी गर्दै भारत, पर्यटनमन्त्रीको भेट उपलब्धिविहीन

मन्त्री अधिकारी ‘ग्लोबल एभिएसन समिट २०१९’मा सहभागी हुन गएको भएपनि उनको मुख्य उद्देश्य भारतसँग हवाई रुटका विषयमा छलफल गर्ने नै थियो ।

काठमाडौ । नेपाल र भारतबीच भएको सहमतिअनुसार भारतले दिने भनिएका तीन ओटा हवाई रुटका लागि फेरि अल्झो निकालेको छ । गत असार २ गते भएको सम्झौताअनुसार २०१८ भित्र विस्तृत प्राविधिक मूल्याङ्कन कार्य सम्पन्न गर्ने सहमति भएपनि त्यो हुन सकेको छैन ।

एक साताअघि भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले हवाई रुटका विषयमा कुटनीतिक पहल गरेका थिए । उनकै पहलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सोमबार भारत गएका छन् । मन्त्री अधिकारी ‘ग्लोबल एभिएसन समिट २०१९’मा सहभागी हुन गएको भएपनि उनको मुख्य उद्देश्य भारतसँग हवाई रुटका विषयमा छलफल गर्ने नै थियो ।

मन्त्रालयले बनाएको कार्यतालिकाअनुसार बुधबार पर्यटनमन्त्री अधिकारीले भारतीय उड्डयनमन्त्री सुरेश प्रभाकर प्रभुसँग भेट गरेका छन् । समकक्षीसँगको भेटमा हवाई रुटका विषयमा ठोस निर्णय हुन नसकेको जनाएको छ । दुई मन्त्रीबीचको भेटमा हवाई रुट कति ओटा दिने र कहिलेबाट दिने भन्ने विषयमा ठोस निर्णय नभएको स्रोतको भनाइ छ । भारतले सुरुदेखि नै हवाई रुट दिन आनाकानी गरिरहेका बेला दुई मन्त्रीबीचको भेटपनि उपलब्धिविहीन भएको छ ।

भेटवार्तामा भएको छलफल सकारात्मक देखिएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको भनाइ छ । उनले हवाई रुटका विषयमा थप छलफल गर्ने सहमतिसमेत भएको बताए ।

गत असार २ गते भएको सहमतिअनुसार भारतले नेपाललाई थप ३ ओटा हवाई रुट दिने भनिएको थियो । तर भारतीय विमानन प्राधिकरणले प्राविधिक विषय नमिलेको भन्दै तत्काल थप हवाई रुट दिन नसक्ने जवाफ क्यानलाई दिएको थियो । हाल नेपाललाई भारतले एउटा रुट मात्र दिएको छ ।

आगामी सेप्टेम्बरभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने तयारी भइरहेका बेला थप हवाई रुट नदिँदा समस्या पर्ने पर्यटन मन्त्रालयको भनाइ छ । दुई पक्षीय सहमतिअनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश बिन्दुका लागि काठमाडौंदेखि विराटनगर र जनकपुरबीचको हवाईरुटलाई दुईतर्फी बनाउने र दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्याङ्कनका आधारमा उक्त रुटबाट वायुयान नेपाल प्रवेश गने सक्ने उल्लेख गरिएको थियो ।
यस्तै पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाइमा उडान गर्ने वायुयानका लागि मौजुदा काठमाडौं–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई दुईतर्फी बनाउन दुवै पक्ष बसी उडान सुरक्षा मूल्याङ्कनका आधारमा लागू गर्ने छ । यस्तै पूर्वतर्फ काठमाण्डौ–जनकपुर–पटनाबीचको एकतर्फी रुटलाई दुईतर्फी बनाउन दुवै पक्षबाट उडान सुरक्षा मूल्याङ्कन गरी सोका अधारमा लागू गर्ने सहमति भएको थियो ।