निगमले आफैंले कमाएर पुँजी बढाउने अवस्था छैन

मैले पहिलेखि भन्दै आएको छु— ग्राउन्ड ह्यान्डलिङ र जहाजको आम्दानी छुट्याउनुपर्छ । छुट्याउन नसके पनि हिसाबकिताब फरकफरक गर्नुपर्छ । त्यसो हुँदा सबै प्रस्ट देखिन्छ । हामीले आफ्ना कमीकमजोरी स्विकार्न सकेनांै भने कहिल्यै विकास गर्न सकिँदैन ।

२०७५ कात्तिक ३० गते मन्त्रिपरिषद् बैठकबाट नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका हुन्— मदन खरेल । अरुले गरेको कामको गुणदोष लिन नचाहेपछि खरेलले निगमको श्वेतपत्र सार्वजनिक गरे । हावादारी व्यावसायिक योजना बनाएर वाइडबडी जहाज उड्न नसकेको निष्कर्षसहित खरेलले नयाँ योजनासमेत बनाए । लामो दूरीमा विमान सञ्चालन गर्न नसकेको, निगमको सेवा चुस्त नभएको र आर्थिक सङ्कटमा परेको विषय सार्वजनिक भइरहेका बेला निगमका कार्यकारी अध्यक्ष मदन खरेलसँग आगामी योजना विषयमा क्यापिटलका प्रकटकुमार शिशिरसुवास योञ्जनले गरेको कुराकानी  :

अहिले निगममा कार्यकारी अध्यक्ष भएर आउनुभएको छ । यसअघि महाप्रबन्धक हुनुभएको थियो । बीचमै राजीनामा दिएर जानुभयो अनि फेरि आउनुभयो, किन ?

यसअघि म स्वास्थ्यका कारण गएको हुँ । त्यो बेला निगमले राम्रो गति लिएको थियो । म चाहन्छु, मेरा कारण संस्थाको नेतृत्वमा असर नपरोस् । त्यसैले गएको हुँ । तर अहिले आउनुमा मेरो कारण होइन । यो सरकारको हो । सरकारलाई मेरो आवश्यकता महसुस भयो र मलाई बोलाइयो । मैले पहिला काम गरिसकेको हुनाले सरकारको आग्रहलाई स्विकारेको हुँ । अहिले ठूलो जिम्मेवारी लिएको छु, यो पूरा गरेरै छाड्छु । मेरो अघिल्लो कार्यकालमा पनि व्यापक काम भएको छ, निगममा । जहाज खरिददेखि निगममा धेरै परिवर्तन गरें । यहाँका ससाना विषय धेरै सुधारेको थिएँ । ती कुरा एकै पटक देखिँदैनन् । पुनः अहिले पनि म निगम सुधारको पक्षमा प्रतिबद्ध भएर लागिरहेको छु । बिस्तारै परिवर्तन देखिँदै जान्छ ।

यसबीचमा नेपाल एयरलाइन्सले तपाईंको अभाव महसुस गरेको हो ?

अवश्य, नेपाल एयरलाइन्समा मेरो धेरै परिश्रम परेको छ । लामो समय काम गरें । जति गरें, निगमको सफलताका लागि दत्तचित्त भएँ । अहिले पनि गर्छु ।

तपाईं महाप्रबन्धक हुँदा पनि संस्था घाटामै थियो ? तपाईंको पालामै जहाज ल्याउने पहल सुरु भयो । अहिले जहाज आएपछि फेरि आउनुभएको छ । तपाईंको योजना के छ अब ?

निगम सधैं घाटामा छ भन्ने प्रश्न सबै मिडियाकर्मीले गर्नुहुन्छ । तर म भन्छु— निगम घाटामा छैन । एउटा घाटा छ, निगमसँग । त्यो घाटा अहिले भएको होइन । २०५५/०५६ सालतिरै भएको हो लाउडा काण्डदेखि नै हामीलाई करिब २ अर्ब घाटा भएको हो । त्यहाँदेखि अहिलेसम्म निगम घाटामा छ । त्यसमा मैले केही गर्न सक्दिनँ । सुरुमै व्यवसायले नै धान्न नसक्ने घाटा भयो । त्यसलाई तत्काल परिपूर्ति गर्न पनि सकिएन, जसले अहिलेसम्म समस्या भइरहेको छ ।

ग्राउन्ड ह्यान्डलिङ गरेर मात्र आम्दानी गर्नु कत्तिको ठीक हो ? निगमले त जहाज उडाएर नाफा कमाउने हो नि, होइन र ?

यसमा म सहमत छु । मैले पहिलेखि भन्दै आएको छु— ग्राउन्ड ह्यान्डलिङ र जहाजको आम्दानी छुट्याउनुपर्छ । छुट्याउन नसके पनि हिसाबकिताब फरकफरक गर्नुपर्छ । त्यसो हुँदा सबै प्रस्ट देखिन्छ । हामीले हाम्रा कमीकमजोरी स्विकार्न सकेनांै भने कहिल्यै विकास गर्न सकिँदैन । मबाट पनि कुनै गल्ती भएका छन् भने त्यो स्विकार्छु । गल्ती गरिरहने अनि स्विकार्न पनि नसक्ने मानिस यहाँ धेरै छन् । अनि कसरी हुन्छ सुधार ? हाम्रो एयरलाइन्स विश्वकै बेस्ट एयरलाइन्स हो र ? त्यसरी भन्न मिल्छ । म भन्छु— निगममा हाम्रा धेरै कमीकमजोरी छन् । तिनलाई बिस्तारै सुधार गरेर हामी अघि बढ्ने क्रममा छौं ।

नेपाल एयरलाइन्समा सुगतरत्न कंसाकार र तपाईं आउनेजाने भइरहन्छ । संस्था नाफामा पनि गएको देखिँदैन । तपाईंहरु भने दोहोरिइरहनुहुन्छ, खास कारणचाहिँ के हो ?

कोही मान्छेलाई संस्थाको नेतृत्व दिँदा योग्यताले ठूलो महत्व राख्छ । जसलाई पायो, त्यसलाई संस्थाको जिम्मेवारी दिइँदैन । त्यसकारण यहाँ नियुक्ति दिँदा लामो समयसम्म काम गरेका म्यानेजर छानेको हुन सक्छ । हामी दुई जना मात्र होइन, पहिला पनि धेरै व्यक्ति दोहोरिएका छन् । हामीलाई पनि ‘काम गर्न सक्छन्’ भन्ने देखेर सरकारले बोलाएको होला ।

तपाईं आउनुअघि दुई ओटा वाइडबडी जहाज आइसकेका थिए । बिजनेश प्लान नभएकै कारण तिनले लामो दूरीमा उडान गर्न सकेनन् । तपाईंले श्वेतपत्र जारी गर्नुभयो, योजना के छन् ?

हामी धेरै आशावादी छौं । विमान खरिद गरियो । काम हुँदै छ । श्वेतपत्र जारी गर्दा नेपाल एयरलाइन्सले धेरै काम गरेको छ, जुन काम जनतालाई जानकारी गराउनु थियो । सानाभन्दा ठूला जहाज सञ्चालन गर्न बढी चुनौती हुन्छ नै । यो बेलामा हामीलाई सबै पक्षबाट सहयोग चाहिन्छ । त्यही सहयोग माग्न हामीले सबैलाई एयरलाइन्सबारे जानकारी गराएका हाैं । निगमले राम्रो ग¥यो भने सबैले नाक ठाडो गर्ने ठाउँ हुन्छ । पहिला साना जहाज उडाइरहेका थियौं, अहिले ठूला जहाज भित्रिएका छन् । जुन बेला जहाजै थिएन र त भएको छ भने, अहिले जहाज त जोडिएको छ नि । अब बिस्तारै यिनले व्यापार गर्दै जान्छन् । केही विषयमा पत्रकार साथीसँग मेरो मत बाझिन्छ । उहाँहरुले लेख्नुहुन्छ— नेपाल एयरलाइन्स निरन्तर घाटामा छ । तर यो कुरा त केहिल्यै पुष्टि हुँदैन । हामीले सधैं केही न केही त गरिरहेकै छौं । हामी प्रोग्रेसमा छौं । पाँच ओटा जहाज अन्तर्राष्ट्रिय उडानमा छन् । ९ ओटा जहाज आन्तरिक उडानमा छन् । अब यसलाई कसरी निरन्तर घाटामा गयो भन्ने ? हामीले श्वेतपत्रमा भन्न खोजेको विषय थियो— पहिलेको तुलनामा हामी एग्रेसिभ भएर काम गरिरहेका छौं । ठूलो काम गर्दै छौं । यो कुरा सबैले थाहा पाउनु पनि पर्छ । किनकि ठूला काम थाल्दा त्यसमा चुनौती हुन्छ नै । चुनौतीको सामना गर्न सकेनौं विकास पनि हुँदैन । र स्वतः पछि पर्छाैं । विकासका लागि केही समस्या आइपरेको अवस्थामा सबै क्षेत्रबाट सहयोग हुनुपर्छ भन्ने श्वेतपत्रको मुख्य लक्ष्य थियो । तर त्यसलाई उल्टाएर निगमका कर्मचारीलाई तलब सुविधा दिन मात्र पैसा माग्न श्वेतपत्र जारी ग¥यो भन्ने आयो । तर त्यो बिल्कुल थिएन ।

श्वेतपत्र २० अर्ब माग्न मात्र नभएर म आउँदा संस्था यस्तो अवस्थामा छ, अब त्यसलाई यसरी सञ्चालन गर्छु भनेर जानकारी दिन पनि त त्यो जारी गराइएको होला नि ?

त्यो पनि हो, यो बेसलाइन हो । त्यही बेसलाइनका आधारमा काम गर्दै जान्छु । मलाई पनि सबैलाई जवाफ दिन सजिलो हुन्छ । अरुको जसअपजस किन लिनु मैले ?

निगमले ऋण लिएको संस्थालाई समयमै किस्ता तिर्दैन भन्ने हल्ला छ, २० अर्बचाहिँ किन चाहिएको नि ?

त्यो आरोप पूर्ण रुपमा गलत हो । सुरुमा के थियो मलाई थाहा छैन । तर म आएपछि नियमित रुपमा किस्ता तिरेको छु । व्यवसायको पुँजी वृद्धिका लागि २० अर्ब मागिएको हो । संस्थाको पुँजी लगानीभन्दा ऋण बढी छ । ४० अर्ब ऋण छ । तर हामीले ४० अर्ब ऋण मागेका त छैनौं । संस्था डुब्नै लागेको भए ४० अर्ब नै मागिन्थ्यो । अहिले मासिक १७ करोड ब्याज तिरिरहेकै छौं । यस्तो अवस्थामा संस्था बर्बादै भयो भन्न मिल्ला ? मैले केवल संस्थाको अवस्थाबारे जानकारी गराएर पुँजी बढाउन सरकारसँग रकम मागेको हुँ । व्यापार गरेको पहिलो वर्षमै नाफा हुन्छ भन्ने कसैले सोचेको पनि हुँदैन । हामी पनि व्यापार गरिरहेका छौं । यी विषयबारे सरकारलाई पहिले नै बुझाएको भए यस्तो विवाद आउँदैनथ्यो पनि ।

पुँजी वृद्धि भनेको सरकारलाई पैसा माग्ने मात्र त होइन होला । तपाईंहरुले कमाएको नाफाबाट पनि पुँजी बढाउन सकिन्थ्यो होला, आखिर यस्ता कम्पनी नेपालमा धेरै छन् । तपाईंहरुले चाहिँ त्यसो गर्न किन सक्नुभएन ?

त्यो त हो । तर हामी अहिले आफ्नो साइजभन्दा बढी काम गर्न सक्ने अवस्थामा छैनौं । निगममा आफैंले नाफा कमाएर पुँजी बढाउने अवस्था पनि छैन । हामी नाफामा गएको भए सरकारलाई गुहार्नै पर्दैनथ्यो ।

पुँजी बढाउने दुई विधि छन् । एक, सरकारले पुनः ऋण दिने र अर्को नाफाको केही प्रतिशत रकमले पुँजी वृद्धि गर्ने । तर निगममा रहेका जहाज उल्टै घाटामा छन् । तिनीहरुले नाफा कमाउने दिन आएन । यो स्वीकार गर्नुहुन्छ ?

कुरा त्यसो होइन । किनभने भोलिको व्यवसायलाई अहिले नै घाटा हुन्छ भन्न मिल्दैन । एयरबस ३२० ल्याउँदा सञ्चय कोषबाट १० अर्ब रुपैयाँ ऋण लिएका थियौं । त्यसको झन्डै २ अर्ब रुपैयाँ तिरिसकेका छौं । त्यसका लागि हामीले मागेनौं पनि । त्यतिबेला व्यापार पनि राम्रो थियो । अहिले एकै पटक ठूलो लगानीमा जहाज खरिद गरेको हुनाले संस्थालाई आर्थिक भार धेरै परेको हो । त्यो जोखिम संस्थाले लिएको हो । हामी त्यहाँबाट भाग्न मिल्दैन ।

निरन्तर घाटामा गइरहेको बेला थप लगानी गर्ने कि नगर्ने भन्ने विषयमा लगानीकर्ताले पटकपटक सोच्छन् । तपाईंहरुसँग सञ्चय कोषको पहिलाको ऋण ८ अर्ब रुपैयाँभन्दा बढी छ, फेरि २४ अर्ब रुपैयाँ ऋण लिनुभएको छ । ऋण मात्र बढाउँदै जाने हो कि व्यावसायिक प्लानमा पनि एग्रेसिभ भएर लाग्ने हो ? व्यावसायिक प्लानमा पछि परेको जस्तो लाग्दैन तपाईंलाई ?

अवश्य पनि, हामी पछि परेका छौं । हामी यस विषयमा गम्भीर भएर लागेका छौं । हामीलाई सरकारले २० अर्ब दिनेबित्तिकै सबै समस्या हट्छ भन्ने छैन । यो त आधार मात्र हो । संस्था जोखिममा पर्न लागेका बेला सरकारको साथ मात्र मागेका हौं । अहिलेसम्म साना जहाजको ऋण त तिरेका छौं नि । हामीले केही कामै नगरी निगमलाई घाटा बढाएर मात्र बसेका छैनाैं । पहिला सानो आकारमा संस्थाको ऋण थियो । दुई ओटा वाइडबडी थपिएपछि एक्कासि ठूलो ऋण बढेको मात्र हो । यसमा सरकारको सहयोग मागेका हौं ।

त्यसो भए यो बेला दुई ओटा वाइडबडी जहाज आउनु ठीक थियो कि थिएन त ?

जहाज ल्याउनु हुन्थ्यो, हुँदैनथ्यो भन्नुभन्दा पनि यसलाई कसरी धेरैभन्दा धेरै उपयोग गरेर देशको हितमा लगाउन सकिन्छ भन्नेमा चिन्तित हुनुपर्छ । तब मात्र राम्रो हुन्छ ।

सुरुमा वाइडबडी आउँदा धेरै नेपाली खुसी भएका थिए । अहिले जहाजकै कारण निगम डुब्छ कि भन्ने चिन्तामा छन् नि ?
नेपाली जनतालाई कुनै पनि हालतमा दुःखी बनाउँदैनाैं । मिहिनेत गर्नुपर्छ, संसारमा असम्भव केही छैन । त्यसैले हामी ठूला जहाजलाई पूर्ण रुपमा सञ्चालन गर्छौं । त्यसका लागि हामी लागिपरेका छौं ।

सरकारले २० अर्ब रुपैयाँ दिएन भने के हुन्छ ?

पैसा दिएन भनेर हार मान्दैनौं । नयाँ उपाय निकाल्छौं । तर मलाई लाग्छ, सरकारले पैसा दिन्छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्थानको चिन्ता हामीलाई मात्र होइन, सरकारलाई पनि उत्तिकै छ । त्यसैले उसले अवश्य सहयोग गर्छ ।

इथियोपियन एयरलाइन्ससँग नेपाल एयरलाइन्सले साझेदारी गर्न लागेको भन्ने हल्ला छ नि, के यो साँचो हो ?

यस विषयमा छलफल भएको हो । तर हामी निर्णयमा पुगिसकेका छैनौं । म यो एयरलाइन्सबाट धेरै प्रभावित छु । मैले यो एयरलाइन्सका प्रतिनिधिसँग भेट गरिसकेको छु । र छिट्टै म्यानेजरसँग पनि भेट्दै छु । इथियोपिया नेपाल जस्तै सानो देश हो । तर अहिले उसले अफ्रिकाको नेतृत्व गरिरहेको छ । हामीले उनीहरुबाट धेरै सिक्न जरुरी छ । लिड गर्न सक्ने अवस्था हामी जस्ता कर्मचारीले मात्र गरेर भएको हैन, त्यहाँका नेताहरुका कारण सम्भव भएको हो । त्यसैले उनीहरुबाट केही विषय सिक्न खोजेका हौं, साझेदारी नै गर्ने भन्ने विषयको टुङ्गोमा पुगेका छैनौं ।

त्यसो भए नेपाल एयरलाइन्सको मुख्य समस्या के हो ?

हाम्रो समस्या भनेकै जहाज समयमै उड्दैनन् । यो समस्या किन आएको हो, यस विषयमा अनुसन्धानरत छौं । पाइलट ढिला पुग्ने गर्छन् कि समयमै यात्रु नपुगेका हुन्, इन्जिनियरले जहाज ढिलो बनाउँछन् कि के कारणले यसरी ढिलाइ भइरहेको छ भन्ने विषयमा विश्लेषण आवश्यक छ । अहिलेको ९९ प्रतिशत समस्या इन्जिनियरिङ नै हो । त्यसमा पनि जहाज मर्मत गर्ने पार्टमा बढी ढिलाइ हुने गरेको छ । जहाज खोल्ने तर कहिले बन्छ भन्ने यकिन नगर्ने समस्या छ । यो समस्या समाधान गर्न सकियो भने ८० प्रतिशत व्यापार यसैबाट बढ्छ । त्यसैले म धेरै जसो समय ह्याङ्गरमा बिताउने गरेको छु । मलाई थाहा छ, कसले, कहाँ ढिला गर्दै छन् भन्ने । अहिलेकै अवस्थामा एयरलाइन्सको प्रगति सम्भव छैन । म अब एक्सनमा जान्छु । इन्जिनियरिङ पाटोलाई छुट्टै बनाउने कोसिसमा छु । त्यसैले तत्काल एयरलाइन्समा साझेदारी भिœयाउनुभन्दा पनि सुधारमा लाग्न आवश्यक छ । यसमा म प्रयासरत छु ।

दुई ओटा वाइडबडी जहाजको व्यावसायिक योजना के छ ?

वाइडबडी जहाज सञ्चालनमै छन् । माघभित्र जापान उड्छौं । फागुनमा चीनमा उडान थाल्छौं । यी दुई गन्तव्यमा तत्काल उडान थालेपछि हामी हरेक महिना नयाँ गन्तव्यमा उडान गर्ने गरी काम अघि बढाउँदै छौं ।

क्यापिटल बिजनेस म्यागजिनबाट