माथिल्लो तामाकोसी उत्कृष्ट, बजार पुँजीकरण ३३ अर्ब

बजार पूँजीकरणका आधारमा शीर्ष स्थानमा नेपाल टेलिकम रहेको छ । सो कम्पनीको बजार पूँजीकरण १ खर्ब ९ अर्ब ९५ करोड रुपैयाँ छ । दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण ६८ अर्ब २१ करोड छ । तेस्रोमा रहेको नविल बैंकको ६७ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ छ ।

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) लिमिटेडमा कारोबार शुरु भएको एक सातामा नै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बजार पूँजीकरण ३२ अर्ब ९३ करोड ४९ लाख रुपैया हुन पुगेको छ ।

नेप्सेले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार दोस्रो बजारमा कारोबार शुरु भएको एक सातामै उत्कृष्ट १० कम्पनीको सूचीमा अपर तामाकोसी हाइड्रोपावर लिमिटेड पर्न सफल भएको हो । गत पुस २९ गतेदेखि दोस्रो बजारमा सो कम्पनीको सेयर कारोबा। शुरु भएको हो । कम्पनीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा कारोबारका लागि सूचीकरण भएको छ । हरेक दिन करीब १० प्रतिशतका दरले सेयरको मूल्य बढेको कम्पनी एक सातामै बजार पूँजीकरणमा समेत शीर्ष १० औं स्थानमा पर्न सफल भएको हो ।

दोस्रो बजारमा माथिल्लो तामाकोसीको सेयर काराेबार गत पुस २९ गते अाइतबारदेखि प्रतिकित्ता २२४ रूपैयाँमा खुलेकाे थियाे । नेप्सेका अनुसार यही माघ ३ गते बिहीबार माथिल्लो तामाकोसीको सेयर दोस्रो बजारमा प्रतिकित्ता ३११ मा खरीद बिक्री भएको छ । तर सो कम्पनीको सेयर खरीद गर्न चाहनेको सङ्ख्या बढी भए पनि बिक्री गर्न चाहने भने असाध्यै न्यून रहेका छन् ।

बजार पूँजीकरणका आधारमा शीर्ष स्थानमा नेपाल टेलिकम रहेको छ । सो कम्पनीको बजार पूँजीकरण १ खर्ब ९ अर्ब ९५ करोड रुपैयाँ छ । दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण ६८ अर्ब २१ करोड छ । तेस्रोमा रहेको नविल बैंकको ६७ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ छ ।

नेपाल लाइफ इन्स्योरेन्स ४९ अर्ब २४ करोड ५६ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंक ४७ अर्ब १८ करोड, एभरेष्ट बैंक ४२ अर्ब ५४ करोड २३ लाख, हिमालयन बैंक ३८ अर्ब ७६ करोड, एनआइसी एशिया बैंक ३४ अर्ब ९८ करोड, नेपाल एसबिआइ बैंक ३२ अर्ब ९५ करोड र माथिल्लो तामाकोशीको ३२ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ बराबरको बजार पूँजीकरण हुन पुगेको छ । रासस