राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैङ्कहरुको सुझावअनुसार लगानी जुटाउन होटल सञ्चालक समिति हकप्रद सेयर निष्कासनको निर्णयमा पुगेको उनको भनाइ छ । हकप्रद सेयर निष्कासनको प्रस्ताव तारागाउँ विकास समितिको प्रतिनिधित्वमा रहेको सञ्चालक समितिले पारित गरेको उनले जानकारी दिए ।
काठमाडौं । तारागाउँ विकास समितिले थप लगानी नगर्दा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा रहेको सेयर स्वामित्व घटेको पाइएको छ । मुलुक चरम द्वन्द्वका कारण पर्यटक आगमन लगभग ठप्प हुनगई होटलको आम्दानी पनि शून्य अवस्थामा पुगेपछि बैङ्कबाट लिएको ऋण र सोको ब्याज भुक्तानी गर्न होटल असफल हुन गएको थियो ।
बैङ्कबाट लिएको कर्जा र सोको ब्याजसमेत तिर्न नसकेपछि होटल लिलामीमा जान सक्ने अवस्थामा पुगेपछि संस्थापक लगानीकर्ता सराफ र श्रेष्ठ परिवारले होटललाई अघि बढाउन मुख्य लगानीकर्ता एसियाली विकास बैङ्क (एडीबी) लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैङ्कहरुलाई ऋण पुनःसंरचना गर्न अनुरोध गरेको थियो । संस्थापकले थप लगानी गर्ने शर्तमा ती बैङ्कहरुले होटललाई ऋण पुनःसंरचना दिन सहमति जनाएका थिए । त्यसपछि कर्जा पुनःसंरचनाको काम अघि बढेको होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैङ्कहरुको सुझावअनुसार लगानी जुटाउन होटल सञ्चालक समिति हकप्रद सेयर निष्कासनको निर्णयमा पुगेको उनको भनाइ छ । हकप्रद सेयर निष्कासनको प्रस्ताव तारागाउँ विकास समितिको प्रतिनिधित्वमा रहेको सञ्चालक समितिले पारित गरेको उनले जानकारी दिए । होटल सञ्चालन हुन नसक्ने अवस्थामा पुगेर गुज्रिरहेको अवस्थामा बैङ्कहरुले हकप्रदमार्फत पुँजी थप्ने भएमात्र कर्जाको पुनर्संरचना गरिदिने भनेपछि होटलको चौथो वार्षिक साधारणसभाले ५ बराबर ३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेर पुँजी ७४ करोड ४० लाख ८७ हजार ५०० रुपैयाँबाट बढाएर १ अर्ब १९ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको थियो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले २०६२ माघ २५ गते साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको थियो ।
सभाको निर्णयअनुसार होटलले २०६२ फागुन २२ गते संस्थापक सेयरधनी तारागाउँ विकास समितिलाई ५ बराबर ३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएकाले २२.६७ प्रतिशत स्वामित्व अर्थात् १० करोड २० लाख रुपैयाँ बराबरको १० लाख २० हजार कित्ता हकप्रद सेयर खरिद गर्न समितिलाई पत्राचार गरेको थियो । कम्पनीले २०६३ असार २२ गतेदेखि साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गरेको थियो । ‘हकप्रद सेयर २०६९/०७० सम्म खुला गरिएको थियो । तर तारागाउँले हकप्रद सेयर लिन मञ्जुर गरेन,’ परियारले भने । तारागाउँ विकास समितिले आफ्नो भागको हकप्रद सेयर लिएको भए संस्थापक समूहबीच (तारागाउँ र निजीक्षेत्र)को सेयर लगानी अनुपात यथावत नै रहने परियारको भनाइ छ ।
संस्थापक सेयरधनी तारागाउँले १० करोड २० लाख, सराफ परिवारले ११ करोड ७ लाख, श्रेष्ठ परिवारले ७ करोड ३८ लाख, हायत रिजेन्सीले १ करोड १४ लाख, एडीबीले ४ करोड २५ लाख, एसियन फाइनान्स एन्ड इन्भेस्टमेन्ट कर्पोरेसनले ३ करोड ४० लाख र सर्वसाधारणबाट ७ करोड २० लाख रुपैयाँ सङ्कलन गर्ने योजना थियो ।
होटलले हकप्रद सेयर खरिदका लागि २०६३ माघ १५, २०६३ चैत ८, २०६४ असार ८, २०६४ साउन २, २०६४ साउन १६, २०६५ भदौ ४ र २०६६ चैत चैत ६ गते समितिलाई पत्राचार गरी हकप्रद सेयर खरिदका लागि अनुरोध गरेको थियो ।
हकप्रद सेयर जारीपछि कम्पनीको पुँजीको आकार ७४ करोड ४० लाखबाट बढेर १ अर्ब ८ करोड ९० लाख रुपैयाँ पुगेको छ । तारागाउँले हकप्रद सेयर खरिद नगरेपछि कम्पनीमा उसको स्वामित्व २२.८५ बाट घटेर १५.६२ प्रतिशतमा झरेको थियो ।
हकप्रद सेयर भरेपछि सराफ र श्रेष्ठ परिवारको स्वामित्व ४१.३३ बाट बढेर ४५.२०, सर्वसाधारणको १६.१३ बाट बढेर १७.६४ र बैंक तथा वित्तीय संस्थाको १९.७० बाट बढेर २१.५५ प्रतिशत स्वामित्व कायम भएको थियो ।
हकप्रद सेयर निष्कासनपछि कर्जाको पुनर्तालिकीकरण गरिएको थियो । कर्जाको पुनर्तालिकीकरणमा भएको व्यवस्थाअनुसार २०६४ बैशाख १० गते ५८ करोड ६० लाख रुपैयाँ ऋण र ब्याजमध्येको केही रकम २१ करोड २० लाख रुपैयाँ सेयरको रुपमा बैङ्कले सकारेपछि कम्पनीमा बैङ्क तथा वित्तीय संस्थाको स्वामित्व बढ्न गयो र सर्वसाधारणसमेत जम्मै सेयरधनीहरुको अंश घट्न गएको उनले बताए । परियारका अनुसार तारागाउँको स्वामित्व १५.६२ बाट घटेर १०.१५ प्रतिशत, सराफ र श्रेष्ठ परिवारको ४५.२० बाट २९, सर्वसाधारणको १७.६४ बाट ११.४७ र बैङ्क तथा वित्तीय संस्थाको २१.५५ बाट बढेर ४९ प्रतिशत पुगेको थियो ।
पुनर्तालिकीकरणको व्यवस्थाअनुसार नयाँ लगानी संरचना तयार हुन पुगेको हो । २०६४ वैशाख १० गते जारी गरिएको अग्राधिकार सेयरलाई २०७१ असार ३० गते साधारण सेयरमा परिणत गरिएपछि तारागाउँको स्वामित्व १०.१५ बाट घटेर ९ प्रतिशतमा झरेको हो । यसपछि संयुक्त साझेदार सराफ र श्रेष्ठ परिवारको घटेर २६.८, सर्वसाधारणको १०.१८ र बैङ्क तथा वित्तीय संस्थाको बढेर ५४.७३ प्रतिशत कायम भएको छ । पछिल्लो समयमा कम्पनीको पुँजी बढेर १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
जसअनुसार बैङ्क तथा वित्तीय संस्थाको स्वामित्व बढेर १ अर्ब ३ करोड २६ लाख रुपैयाँ पुगेको छ । सर्वसाधारणको १९ करोड २० लाख, सराफ र श्रेष्ठ परिवारको ४९ करोड २० लाख, तारागाउँको १७ करोड रुपैयाँ बराबरको स्वामित्व छ । २०७१ पछि बैङ्क तथा वित्तीय संस्थाले बेच्न चाहेको सेयर सराफ र श्रेष्ठ परिवारले खरिद गरेका छन् ।
कम्पनी सञ्चालनमा आएको ७ वर्षदेखि नाफामा
निर्माण कालदेखि नै माओवादी द्वन्द्वको चपेटामा परेको होटलमा पर्यटक आगमन शून्य अवस्थामा पुगेपछि होटलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैङ्कहरुबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानी गर्न नसकेपछि लिलामी गर्ने अवस्थामा पुग्न सक्ने सम्भावना थियो । त्यसबेला अर्बौं रुपैयाँ लागतमा निर्माण भएको पोखराको पूmलबारी होटल बन्द अवस्थामा छ । यस्तै द्वन्द्वका कारण होटल नारायणी, शेर्पा होटल र ब्लुबर्ड होटललगायत साना ठूला गरी धेरै होटल बन्द भएका थिए ।
ब्लुबर्ड, शेर्पा र नारायणी अहिले सपिङ कम्प्लेक्समा परिणत भएका छन् । तर सोही समयमा सुरु भएको हायात भने सफल भएको हो ।
२०६५ देखि सञ्चालन नाफामा आएको होटलले २०७१/०७२ देखि बैङ्क तथा वित्तीय संस्थाबाट लिएको सबै कर्जा चुक्ता गरेर ऋणमुक्त भएको थियो । अहिले होटलको कर्जा दायित्व छैन । सञ्चालनमा आएको १४ वर्षमा होटलले सेयरधनीलाई लाभांश दिएको छ । आर्थिक वर्ष २०७३/०७४ मा होटलले २८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । सो नाफाबाट होटलले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश दिएको थियो । यो वर्ष पनि होटलले २८ करोड रुपैयाँ नाफा गरेको थियो । कम्पनीले सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिसकेको छ ।
होटलले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा २९० प्रतिशत बढाएको छ । होटलले चालू आर्थिक वर्षको असोजसम्म ३ करोड ९० लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ करोड रुपैयाँ मात्र नाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालू आवमा नाफा झन्डै २ करोड ९० लाख रुपैयाँ बढाएको उल्लेख गरेको छ । पर्यटन आगमनमा भएको वृद्धि, प्रभावकारी बजार प्रवद्र्धनले बिक्री बढेपछि नाफा उकालो लागेको होटलले वित्तीय विवरणमा उल्लेख गरेको छ ।
होटलले ३ महिनामा आम्दानी ६ करोड ५५ लाख रुपैयाँ बढाएर २६ करोड ३१ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।