आइतबार माथिल्लो तामाकोसीको २३ करोड ४३ लाख रुपैयाँ बराबरका ७ लाख २९ हजार २३८ कित्ता सेयर किनबेच भए । प्रतिफल लिन लामो समय कुर्नुपर्ने अवस्था आएपछि बाठा लगानीकर्ताले कम्पनीको सेयर बेचेर बाहिरिन थालेका छन् ।
काठमाडौँ । किन्नेभन्दा बेच्ने बढी भएपछि माथिल्लो तामाकोसीको सेयर मूल्य ओरालो लागेको छ । कारोबार सुरु भएको एक सातामा अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य बढेर प्रतिकित्ता ३४२ रुपैयाँसम्म पुगेकोमा घटेर आइतबार २९२ रुपैयाँमा झरेको छ ।
माथिल्लो तामाकोसीको सेयर मूल्य बिहीबार प्रतिकित्ता ३११ रुपैयाँमा झरेको थियो । आइतबार तामाकोसीको सेयर किन्नेभन्दा बेच्ने नै बढी भएपछि यसको असर परेको ब्रोकरहरुले बताएका छन् । तामाकोसीको सेयर मूल्य बढेर घटेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सर्किट ब्रेकर लगाएर रोकेको थियो । खरिदकर्ता बढेपछि सेयर मूल्य उकालो लागेको हो ।
आइतबार माथिल्लो तामाकोसीको २३ करोड ४३ लाख रुपैयाँ बराबरका ७ लाख २९ हजार २३८ कित्ता सेयर किनबेच भए । प्रतिफल लिन लामो समय कुर्नुपर्ने अवस्था आएपछि बाठा लगानीकर्ताले कम्पनीको सेयर बेचेर बाहिरिन थालेको एक ब्रोकरले बताए । ‘२०० प्रतिशत बढी फाइदा भएपछि लगानीकर्ता बेचेर बाहिरिन लाग्दा बजार घटेको हो,’ एक ब्रोकरले भने ।
आइतबार ३६ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । झण्डै २ तिहाइ कारोबार तामाकोसीको छ । माथिल्लो तामाकोसीको सेयर मूल्य घटेपछि यसको असर बजारमा परेको हो । आइतबार बजार ८.६ अंकले घटेर १ हजार १७९ मा सीमित भएको छ । एकैदिन तामाकोसीका लगानीकर्ताले प्रतिसेयर १९ रुपैयाँ गुमाएका छन् । व्यापार, होटल र वित्तबाहेक सबैको मूल्य घटेको छ ।
आइतबार नेसनल माइक्रोफाइनान्स, श्रीराम सुगर मिल्स र मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् भने नागरिक लगानी कोष र अपरतामाकोसीका लगानीकर्ताले गुमाएका छन् ।