भारतीय सामानलाई डलर तिर्ने प्रवृत्ति बढ्यो

‘भारतमा कुल विक्री कर (जीएसटी) लगाउनुअघि कतिपय वस्तुको डलरमा भुक्तानी गर्दा सहुलियत पाउने अवस्था थियो’ उनले भने, ‘पछिल्लो समयमा औद्योगिक कच्चा पदार्थ बढी आयात भएकाले त्यसका लागि डलरमा भुक्तानी हुने गरेको पाइन्छ’ ।

भारतबाट आयातित वस्तुको रकम अमेरिकी डलरमा भुक्तानी गर्ने क्रम चालु वर्षमा ह्वात्तै बढेको छ । चालु वर्षको ५ महिनामा नेपालले भारतबाट आयातित सामग्रीका लागि ५२ अर्ब ७३ करोड ५७ लाख रुपैयाँबराबरको डलर झुक्तानी गरेको छ । पाँच महिनाको अवधिमा भुक्तानी भएको यो रकम गत वर्षको यसै अवधिको ३३ अर्ब ६३ करोड ४४ लाख रुपैयाँको तुलनामा ५६.७९ प्रतिशतले बढी हो । जबकि अमेरिकी डलरको विनिमय दर यसअवधिमा अवमूल्यन भएको छ । २०१७ मध्यडिसेम्बरमा प्रतिअमेरिकी डलर १०३.३८ रुपैयाँ विनिमय दर थियो भने अघिल्लो वर्षको सोही अवधिमा १०८.८९ रुपैयाँ थियो ।

खासगरी भारतबाट आउने कतिपय सामग्रीमा भारतले सहुलियत दिनसक्ने भएकाले पनि अमेरिकी डलरमा भुक्तानी गर्ने क्रम बढेको राष्ट्र बैङ्कको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । ‘भारतमा कुल विक्री कर (जीएसटी) लगाउनुअघि कतिपय वस्तुको डलरमा भुक्तानी गर्दा सहुलियत पाउने अवस्था थियो’ उनले भने, ‘पछिल्लो समयमा औद्योगिक कच्चा पदार्थ बढी आयात भएकाले त्यसका लागि डलरमा भुक्तानी हुने गरेको पाइन्छ’।

चालू वर्षको ५ महिनासम्म कुल वस्तु आयात ४ खर्ब ३१ अर्ब ४९ करोड रुपैयाँबराबरको छ । यसमध्ये ६५ प्रतिशत हिस्सा भारतीय पक्षको छ । भारतबाट आयातित सामग्रीमा डलर भुक्तानी नभएको स्थितिमा नेपालले डलर बेचेर भारतीय रुपैयाँ खरिद गर्ने र त्यसबाट भुक्तानी गर्नुपर्ने बाध्यता छ । राष्ट्र बैङ्कका अनुसार ५ महिनामा नेपालले १ अर्ब ७६ करोड डलर बिक्री गरेर १ खर्ब १३ अर्ब ५९ करोड ११ लाख भारतीय रुपैयाँ खरिद गरेको छ ।

राष्ट्र बैङ्कले तयार पारेको मङ्सिरको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार असोज महिनामा सबैभन्दा बढी ११ अर्ब २३ करोड २९ लाख रुपैयाँबराबरको डलर भारतबाट आयातित सामग्रीलाई भुक्तानी भएको छ । अघिल्लो वर्ष असोजमा ५ अर्ब ५७ करोड ४७ लाख मात्रै भुक्तानी भएको थियो । राष्ट्र बैङ्कका अनुसार यसअघि २०६९/७० को तुलनामा २०७०/७१ मा ठूलो अन्तरमा डलर भुक्तानी भएको थियो । आर्थिक वर्ष २०७२/७३ मा सबैभन्दा कम डलर भुक्तानी भएको देखिन्छ । तर, त्यतिबेला भारतीय सीमा नाकामा ६ महिनाभन्दा बढी अवरोधका कारण नेपालको व्यापार व्यवसाय नै चौपट भएको थियो । त्यतिबेला नेपालले भारतबाट आयातित सामग्रीका लागि २१ अर्ब ६१ करोड ७१ लाख रुपैयाँबराबरको अमेरिकी डलर भुक्तानी भएको थियो ।

भारतीय सामग्रीलाई डलरमा गरिएको ५ महिनाको भुक्तानी प्रवृत्ति

आर्थिक वर्ष         भुक्तानी रकम (रु.लाखमा)          विनिमय दर
२०७४/७५            ५२७३५७                                   १०३.३८
२०७३/७४            ३३६३४४                                   १०८.८९
२०७२/७३            २१६१७२                                   १०६.५
२०७१/७२            ३०८२६८                                   ९९.१
२०७०/७१            २८९०८६                                   ९९.५७
२०६९/७०           १६७६६८                                    ८७.६८