कम्पनीको सम्पूर्ण आर्थिक विवरण र सेयर संरचनाका बारेमा कम्पनी रजिष्ट्रार कार्यालयलाई जानकारी गराउनुपर्ने प्रावधान रहेको र सोही प्रावधान पुर्याउन केही समय लागेका कारण बिक्रीको समय सरेको हो ।
कम्पनी रजिस्ट्रार कार्यालयमा कागजात बुझाउन र अद्यावधिक गर्न थप समय लागेका कारण साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीको साधारण सेयर (आईपीओ) बिक्री गर्ने समय एक महिना पर धकेलिएको छ । कम्पनीको सम्पूर्ण आर्थिक विवरण र सेयर संरचनाका बारेमा कम्पनी रजिष्ट्रार कार्यालयलाई जानकारी गराउनुपर्ने प्रावधान रहेको र सोही प्रावधान पुर्याउन केही समय लागेका कारण बिक्रीको समय सरेको हो ।
सेयर जारी गर्नु पहिले सम्बन्धित कम्पनीले आह्वानपत्रसमेत जारी गर्नुपर्ने हुन्छ । ती सबै व्यवस्था गर्नका लागि थप समय लाग्ने भएकाले साधारण सेयर जारी गर्नका लागि थप केही समय आवश्यक पर्ने देखिएको ती जलविद्युत् कम्पनीले जनाएका छन् । रसुवागढी हाइड्रोपावर लिमिटेडका प्रमुख माधव कोइरालाका अनुसार कम्पनी रजिस्ट्रार कार्यालयलाई केही कागजात बुझाइएको र केही कागजात बुझाउन बाँकी छ । ‘हामीले पछि मात्रै बोर्डबाट अनुमति पाएका हौं, कम्पनी रजिस्ट्रार र बोर्डले थप केही कागजात मागेको छ, त्यो हामी बुझाउँदै छौं’, प्रमुख कोइरालाले भने ।
कम्पनीले केही दिन पहिले वार्षिक साधारणसभासमेत सम्पन्न गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले दिएको निर्देशनका आधारमा आवश्यक कागजात बुझाइएको र केही भने बाँकी रहेको र ती कागजातसमेत बुझाइने बताए । उनले भने, ‘साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिएको छ, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रार कार्यालयलाई आवश्यक कागजात बुझाइएको छ, केही बुझाउन बाँकी छ’ । उनले आगामी फागुनको पहिलो साता आईपीओ जारी हुने बताए । यस्तै नियमानुसार आईपीओ जारी गर्नुभन्दा २१ दिन पहिले आह्वानपत्र सार्वजनिक गर्नुपर्ने भएकाले त्यसलाई समेत व्यवस्थापन गर्न समय लागेको हो ।
रसुवागढी हाइड्रोको साधारण सेयर निष्काशनको बिक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एनआईबीएल क्यापिटल लिमिटेड छन् । रसुवागढीले एक अर्ब ६४ करोड २१ लाख चार हजार रुपैयाँ बराबरको एक करोड ६४ लाख २१ हजार कित्ता सीमित आईपीओ जारी गर्न लागेको छ । रसुवागढीले पहिलो चरणको साधारण सेयर निष्काशन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी झण्डै एक अर्ब ७५ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्नेछ ।
कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । रसुवागढीले कुल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ । आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख कोइरालाले बताए । आयोजना प्रमुख कोइरालाले हाल सुरुङ खन्ने, बाँधलगायत अन्य पूर्वाधार निर्माणको काम युद्धस्तरमा भइरहेको जानकारी दिए । कुल चार हजार १८५ मिटर लामो सुरुङमध्ये दुई हजार ६ सय मिटर निर्माण सकिएको र बाँकी रहेको सुरुङ खन्ने काम आगामी चार महिनाभित्र सम्पन्न हुने पनि उनको भनाइ छ ।
कुल १३ अर्ब ६८ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दाको १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३ दशमलव ५ प्रतिशत एवम् सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ । यसअघि बोर्डले साञ्जेन जलविद्युत् कम्पनीलाई दुई अर्ब ७३ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने अनुमति दिइसकेको छ । सो कम्पनीका प्रमुख किरण श्रेष्ठले कम्पनीको आह्वानपत्र र कम्पनीको संरचनाका बारेमा कम्पनी रजिस्ट्रार कार्यालयलाई जानकारी गराउन समय लागेका कारण साधारण सेयर जारी गर्न केही थप समय लागेको बताउनुभयो । साञ्जेनको बिक्री प्रबन्धकको कार्य नागरिक लगानी कोषले गर्नेछ ।
दुवै कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीलाई दुई अर्ब ५१ करोड ८१ लाख रुपैयाँ बराबरको दुई करोड ५१ लाख ८१ हजार कित्ता आईपीओ बिक्री गर्ने तयारी गरेका छन् । साञ्जेनले ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डले साञ्जेनलाई गत मङ्सिर २६ गते र रसुवागढीलाई पुस २० गते निष्कासन गर्न अनुमति दिएको थियो । साञ्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत सात अर्ब रुपैयाँभन्दा बढी छ ।
माथिल्लो साञ्जेनको काम करिब ७० प्रतिशत सकिएको छ भने तल्लो साञ्जेन ५५ प्रतिशत निर्माण सकिएको छ । दुवै कम्पनीले स्थानीय प्रभावितलाई १० प्रतिशत र आमनेपाली सर्वसाधारणलाई १५ प्रतिशत साधारण सेयर जारी गर्नेछन् ।
रमेश लम्साल