बैङ्कहरुले पुँजी, कर्जा तथा निक्षेप(सीसीडी) रेसियो कसिलो अवस्था भएपछि ब्याजदरमा अस्वाभाविक प्रवृत्ति देखिएको हो ।
पछिल्लो समयमा वित्तीय प्रणालीको ब्याजदमा अस्वाभाविक उतारचढाव आएको छ । बैङ्कहरुले पुँजी, कर्जा तथा निक्षेप(सीसीडी) रेसियो कसिलो अवस्था भएपछि ब्याजदरमा अस्वाभाविक प्रवृत्ति देखिएको हो । बैङ्कको सीसीडी कसिलो भएपछि कर्जा प्रबाह गर्नका लागि निक्षेप तान्नु पर्ने अवस्था सिर्जना भयो । निक्षेप अकर्षण गर्नका लागि बैङ्कहरुले ब्याजदर बढाउन थाले । जसले गर्दा वित्तीय बजारको ब्याजदर नै अस्वाभाविक देखिएको नेपाल राष्ट्र बैङ्कले पनि स्वीकार गरेको छ ।
बैङ्क तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा÷निक्षेप तथा पुँजी अनुपात सम्बन्धमा नेपाल राष्ट्र बैङ्कको स्पष्ट अडानका कारण त्यो समस्या धेरै नरहने केन्द्रीय बैङ्कले जनाएको छ । खुला बजार कारोबार तथा ब्याजदर करिडोरमार्फत् सक्रिय रुपले तरलता प्रवाह गरिएको हुनाले ब्याजदरमा स्थायित्व देखिन थालेको समेत केन्द्रीय बैङ्कले जनाएको छ । वित्तीय स्थायित्वको अङ्कुशको रुपमा रहेको कर्जा/निक्षेप तथा पुँजी अनुपातको सम्बन्धमा नेपाल राष्ट्र बैङ्कले अवलम्बन गरेको नीतिले कर्जा जोखिम नियन्त्रण मात्र नभई कर्जा र निक्षेप वृद्धिबीच सन्तुलन कायम गर्ने केन्द्रीय बैङ्कले जनाएको छ । आगामी दिनमा सरकारी खर्चमा हुने वृद्धिसँगै समग्र वित्तीय बजारको अवस्था थप सहज हुँदै जाने केन्द्रीय बैङ्कको दाबी छ ।
चालु आर्थिक वर्षको ब्याजदरको क्रमलाई हेर्दा पनि स्थिर भने देखिँदैन । चालु आवको पाँच महिनामा ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर एक महिनामा बढेर ५.५१ प्रतिशत कायम भएको छ । यो दर गत महिना अर्थात् कात्तिकमा २.५५ प्रतिशत मात्र थियो ।
त्यसैगरी चालु आवको पाँच महिनामा वाणिज्य बैङ्कहरुबीचको अन्तर–बैङ्क कारोबारको पनि कात्तिकको तुलनामा मङ्सिरमा करिब दोब्बरले बढेको छ । अन्तर बैङ्कको औसत ब्याजदर मङ्सिरमा ४.८३ प्रतिशत छ । अन्तर बैङ्क दर गत कात्तिकमा भने २.६८ प्रतिशत मात्र थियो । त्यसैगरी, वाणिज्य बैङ्कहरुको औसत आधार ब्याजदर भने कात्तिक महिनाको तुलनामा मङ्सिरमा समान्य घटेको छ । बैङ्कहरुको आधार ब्यजादर घट्नु भनेको कस्ट अफ फन्ड घटेको भन्ने बुझिन्छ । चालु आवको कात्तिकमा १०.११ प्रतिशत औसत आधार ब्याजदर रहेकोमा मङ्सिरमा घटेर ९.८७ प्रतिशतमा झरेको छ ।
निक्षेपमा सामान्य वृद्धि
चालु आवको मङ्सिरसम्ममा बैङ्क वित्तीय संस्थाहरुमा रहेको निक्षेप ४.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ५.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप १२.७ प्रतिशतले बढेको छ ।
कर्जा प्रवाह समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको मङ्सिरसम्ममा कर्जा ९.६ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैङ्कहरुको कर्जा प्रवाह ७.२ प्रतिशत, विकास बैङ्कहरुको १२.२ प्रतिशत र वित्त कम्पनीहरुको १.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १६.१ प्रतिशतले बढेको छ ।
सरकारी ढुकुटीमा ३ सय ४८ अर्ब
स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकाले २०७४ मङ्सिर मसान्तसम्ममा सरकारी ढुकुटीमा (स्थानीय तहको खातामा जम्मा भएको रकम ८८ अर्ब २४ करोड समेत) ३४८ अर्ब ९९ करोड रुपैयाँ नगद मौज्दात छ ।
विदेशी सञ्चिति ६ अर्बले बढ्यो
चालु आर्थिक वर्षको मङ्सिरसम्ममा विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तको तुलनामा ६ अर्बले बढेको छ । गत असारमा १०७९ अर्ब ५२ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति मङ्सिरमसान्तमा ०.६ प्रतिशतले बढेर १०८५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०७४ असार मसान्तको ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ मङ्सिर मसान्तमा १.२ प्रतिशतले वृद्धि भई ९३८ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । बैङ्क तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा १५२ अर्ब २६ करोड रहेकोमा २०७४ मङ्सिर मसान्तमा ३ प्रतिशतले घटेर १४७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । २०७४ मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत छ ।
बढेको बढ्यै सोधनान्तर घाटा
गत आर्थिक वर्षको पाँच महिनामा ३ अर्ब ४९ करोडले बचतमा रहेको चालू खाता चालु आवको मङ्सिरसम्ममा ४१ अर्ब ९५ करोडले घाटामा छ । त्यसैगरी, अघिल्लो वर्षको पाँच महिनामा २८ अर्ब ७८ करोडले बचतमा रहेको समग्र शोधनान्तर यो मङ्सिरसम्ममा ९ अर्ब २७ करोड रुपैयाँले घाटामा छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ८६ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ११ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ८४ करोड थियो ।
रेमिट्यान्स घट्ने क्रम जारी
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको मङ्सिरसम्ममा २८५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको मङ्सिरसम्ममा विप्रेषण आप्रवाह ६ प्रतिशतले बढेको थियो । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या मङ्सिरसम्ममा २.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८.९ प्रतिशतले घटेको थियो । चालु आवको मङ्सिरसम्ममा मलेसिया जाने कामदारको सङ्ख्यामा उच्च वृद्धि भएको तर साउदी अरेबिया र कतार जानेको सङ्ख्यामा उल्लेख्य गिरावट आएको छ ।
मूल्यवृद्धि बढ्यो
०७३ मङ्सिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८ प्रतिशत रहेकोमा २०७४ मङ्सिर महिनामा ४.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा समग्र मुद्रास्फीति केही बढ्नुमा खाद्य तथा पेय पदार्थ समूहको प्रमुख भूमिका रहेको छ । हालसालै पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्यमा भएको वृद्धिले आगामी दिनमा मुद्रास्फीतिमा थप दबाब पर्न सक्ने जोखिम छ ।