३ अर्ब रुपैयाँ लगानी गर्न विभिन्न केबलकार कम्पनीसँग छलफल र परामर्श भइसकेको र उनीहरु लगानी गर्न तयारी भएको पनि अध्यक्ष खड्काले जानकारी दिए । बाँकी १ अर्बमध्ये ५० करोड रुपैयाँ त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाले तीन वर्षभित्र लगानी गरिसक्ने र बाँकी स्थानीय वासिन्दाबाट लगानी गरेर ४ वर्षभित्र केबलकार सञ्चालनमा ल्याउने त्रियुगा नगरपालिकाका प्रमुख चौधरीले बताए ।
गाईघाट । उदयपुरको सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका–१६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म केबलकार सञ्चालनका लागि बृहत् आयोजना प्रतिवेदन (डीपीआर) बनाउन सुरु भएको छ ।
त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको पहलमा पहिलोपटक डीपीआर तयार गरेर प्रदेश सरकारलाई बुझाई योजनाको सर्भे सुरु गर्ने तयारी गरेको त्रियुगा नगरपालिकाका प्रमुख बेलदेव चौधरीले बताए । दुई महिनाभित्र सर्भे सम्पन्न गरेर आर्थिक वर्ष २०७६/७७ बाट गाईघाट–बेलदोभान हुँदै पहाडी क्षेत्रको धार्मिक पर्यटकीय र तीर्थस्थल रौतासम्म केबलकार सञ्चालनको योजना सुरु हुने प्रमुख चौधरीले जानकारी दिए ।
जिल्लाकोे सदरमुकाम गाईघाटदेखि करिब १९ किलोमिटर उत्तरी पहाडी क्षेत्रको दूरीमा रहेको रौतापोखरीसम्म केबलकार सञ्चालनका लागि झण्डै ४ अर्ब रुपैयाँ लाग्ने रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का बताउँछन् । ३ अर्ब रुपैयाँ लगानी गर्न विभिन्न केबलकार कम्पनीसँग छलफल र परामर्श भइसकेको र उनीहरु लगानी गर्न तयारी भएको पनि अध्यक्ष खड्काले जानकारी दिए ।
बाँकी १ अर्बमध्ये ५० करोड रुपैयाँ त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाले तीन वर्षभित्र लगानी गरिसक्ने र बाँकी स्थानीय वासिन्दाबाट लगानी गरेर ४ वर्षभित्र केबलकार सञ्चालनमा ल्याउने त्रियुगा नगरपालिकाका प्रमुख चौधरीले बताए ।
रौता पौखरी र रौता पञ्चकन्या देवीको मन्दिरमा अहिले दैनिक २०० सम्म भक्तजन पूजा गर्न जाने गरेका छन् भने अन्य प्राकृतिक दृश्यावलाेकन गर्नेको सङ्ख्या पनि दैनिक सयौँको हाराहारी पुग्ने गरेको रौतामाई गाउँपालिका उपाध्यक्ष कुमारी ठकुरी बताउँछन्।
समुद्री सतहबाट दुई हजार मिटरको उचाइको पहाडी क्षेत्रमा अवस्थित रौताबाट उत्तरतिर सगरमाथा हिमाल, ओखलढुङ्गा, सोलु क्षेत्र, खोटाङको दिक्तेल, हलेसी देख्न सकिन्छ । रौताबाट पूर्वतिर ट्याम्के डाँडा, अरुणबरुण, सङ्खुवासभा क्षेत्र र दक्षिणतिर सप्तरी, सिरहा, धनुषा, सप्तकोशी, इटहरी र विराटनगरसम्म अवलोकन गर्न सकिने हुनाले पनि जिल्लाकै महत्त्वपूर्ण पर्यटकीयस्थल छ ।
गाईघाट–बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालन भएपछि प्रदेश नं १ र प्रदेश नं २ लगायत अन्य जिल्लाबाट समेत ठूलो सङ्ख्यामा रौता क्षेत्रमा पर्यटक आगमन गर्न सहज हुने र जिल्लाको पर्यटन विकासमा मद्दत पुग्ने जिल्लाका जनप्रतिनिधिले बताएका छन् ।