४ महिना बाँकी छँदै क्यान महानिर्देशक बन्न ६ जनाको दौडधुप

राजन पोखरेल, देवानन्द उपाध्याय, नरेन्द्र थापा तथा देवेन्द्र केसी चारजना एकै समयमा २०७२ असोज १० गते बढुवा भएका हुन् । त्यसको एक वर्षपछि राजकुमार क्षेत्री र वीरेन्द्र श्रेष्ठको बढुवा भएको थियो । ६ जनामध्ये तीनजना राजन पोखरेल, देवानन्द उपाध्याय र राजकुमार क्षेत्रीबीच अझ बढी प्रतिस्पर्धा रहेको प्राधिकरण स्रोतले जानकारी दियो ।

काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमको जेठमा अनिवार्य अवकाश हुने भएपछि नयाँ महानिर्देशकका लागि अहिलेदेखि नै ६ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।

गौतमले आगामी जेठ १५ गते ४ वर्ष कार्यकाल पूरा गरेर अनिवार्य अवकाश लिने भएपछि १२औं तहका ६ जना महानिर्देशक बन्न तीव्र प्रतिस्पर्धामा उत्रिएका हुन् । महानिर्देशक पदका लागि क्यानका १२औं तहका ६ जना उपमहानिर्देशकहरु राजन पोखरेल, देवानन्द उपाध्याय, राजकुमार क्षेत्री, नरेन्द्र थापा, वीरेन्द्र श्रेष्ठ र देवन्द्र केसी दौडमा छन् ।

राजन पोखरेल, देवानन्द उपाध्याय, नरेन्द्र थापा तथा देवेन्द्र केसी चारजना एकै समयमा २०७२ असोज १० गते बढुवा भएका हुन् । त्यसको एक वर्षपछि राजकुमार क्षेत्री र वीरेन्द्र श्रेष्ठको बढुवा भएको थियो । ६ जनामध्ये तीनजना राजन पोखरेल, देवानन्द उपाध्याय र राजकुमार क्षेत्रीबीच अझ बढी प्रतिस्पर्धा रहेको प्राधिकरण स्रोतले जानकारी दियो ।

महानिर्देशकका प्रमुख दाबेदार मानिने राजन पोखरेललाई हालका महानिर्देशक सञ्जीव गौतमले साथ लिएका छन् । प्राधिकरणलाई विभाजन गरेर नियमन र सेवाप्रदायी संस्था बनाएर फुटालेपछि गौतम कुनै एउटामा पुनः आउने गरी गौतम र पोखरेलको टिमअप भएको हो । गौतमले अहिलेदेखि नै पोखरेललाई नेकपाका महासचिव विष्णु पौडेल र पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग लगेर लबिङ गराउँदै आएका छन् । नेपाली काङ्ग्रेसनिकट मानिने पोखरेललाई काङ्ग्रेसको ट्याग भएकै कारण गाह्रो हुनेभएछि गौतमले नेकपाका नेताहरुलाई चिनाउन थालेका हुन् ।

देवानन्द उपाध्यायलाई प्राधिकरणभित्र उच्च पदका कर्मचारीको साथ छैन । गौतम र उपाध्यायबीच लामो समयदेखि मनमुटाव रहँदै आएको छ । नेकपानिकट रहेका उपाध्यायलाई प्राधिकरणभित्रका कर्मचारी युनियनहरुको साथ रहेको बुझिएको छ । विमानस्थलमा महाप्रबन्धक हुँदा विभिन्न एयरलाइन्सको करोडौं बक्यौता नउठाएको भन्दै उपाध्यायको आलोचना पनि हुँदै आएको छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक रहेका राजकुमार क्षेत्रीलाई प्राधिकरणभित्रबाट प्रदीप अधिकारीलगायतले महानिर्देशक बनाउनका लागि सहयोग गरिरहेका छन् । पछिल्लो पटक पर्यटन तथा हवाई उडड्यन व्यवसायी आङ छिरिङ नजिक रहेका छन्  । पोखरेल र उपाध्यायभन्दा क्षेत्री एक वर्ष जुनियर भएपनि क्षेत्रीले पूर्व माओवादी नेताहरुको सोर्स लगाउन थालेका छन् ।

यस्तै वीरेन्द्र श्रेष्ठ, देवेन्द्र केसी र नरेन्द्र थापा पनि राजनीतिक सोर्स लगाइरहेका छन् । नेतादेखि हवाई उडड्यन व्यवसायीहरुकहाँ पुगेर आफू महानिर्देशक बन्नका लागि धाइरहेका छन् ।

प्राधिकरणमा १२ तहमा ६ वर्षबसेपछि अनिवार्य अवकाश हुन्छ । त्यसैका कारण पनि अहिले १२औं तहमा रहेका ६ जनाबीच तीव्र प्रतिस्पर्धा रहेको हो । गौतम उमेरका कारण पनि असारबाट अवकाशमा जानेछन् ।