प्रभु बैंकको नाफा ७३ प्रतिशत बढेर १०४ करोड पुग्यो

बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको तुलनामा चालु आवमा नाफा ४४ करोड रुपैयाँ बढेको उल्लेख गरेको छ । बैंकको खुदब्याज आम्दानी बढेपछि नाफामा बढोत्तरी भएको हो ।

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा प्रभु बैकको नाफा ७३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पुससम्म बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६० करोड ११ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको तुलनामा चालु आवमा नाफा ४४ करोड रुपैयाँ बढेको उल्लेख गरेको छ । बैंकको खुदब्याज आम्दानी बढेपछि नाफामा बढोत्तरी भएको हो ।

गत पुसमा ब्याज आम्दानी बढेर २ अर्ब १५ करोड ३० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा खुदब्याज आम्दानी १ अर्ब २१ करोड ७४ लाख रुपैयाँ थियो ।

बैंकको निष्क्रिय कर्जा २.४७, निक्षेप लागत ६.१९, निक्षेप कर्जा अनुपात ७६.५९ र आधार दर ९.३७ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३१ पैसा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन बढेर १ खर्ब ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा निक्षेप ८६ अर्ब १४ करोड रुपैयाँ थियो । यस्तै कर्जा सापटी पनि बढेको छ ।

गत पुससम्म बैंकको कर्जा लगानी ८८ अर्ब १५ करोड पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ७१ अर्ब ७७ करोड रुपैयाँ थियो । बैंकको संचित कोषको आकार बढेर ५ अर्ब ६० करोड पुगेको छ ।