सिटिजन्स बैंकको नाफा ७७ करोड पुग्यो

बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको तुलनामा चालु आवमा नाफा १४ करोड १७ लाख रुपैयाँ बढाएको छ ।

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नाफा साढे २२ प्रतिशतले बढाएको छ । गत पुससम्म बैंकले ७७ करोड रुपैयाँ खुदनाफा गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६२ करोड ८६ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको तुलनामा चालु आवमा नाफा १४ करोड १७ लाख रुपैयाँ बढाएको छ ।

समीक्षा अवधिमा बैंकको खुदब्याज आम्दानी बढेर १ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको खुदब्याज आम्दानी ९७ करोड ४९ लाख रुपैयाँ थियो ।

बैंकको निष्क्रिय कर्जा १.६२, निक्षेप लागत ८.२१, कर्जा निक्षेप अनुपात ७८.८६ र आधार दर १०.७९ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४२ पैसा पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ६५ अर्ब १२ करोड रुपैयाँ निक्षेप परिचालन गरी ६० अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको संचित कोषको आकार ३ अर्ब ३७ करोड रुपैयाँ पुगेको जनाएको छ ।