बेबी जोनभित्र बच्चालाई राख्न, सुताउन र खेलाउनका लागि विशेष ठाउँ बनाइएको छ । त्यहाँ टीभीसमेत राखिनेछ, जसले जहाज उडानको तालिका सहजै रुपमा बेबी जोनमा रहेका आमाहरुले थाहा पाउने र आमाहरु ढुक्कका साथ त्यहाँ बस्न सकिने महाप्रबन्धक क्षेत्रीको विश्वास छ ।
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ‘ह्याप्पी बेबी जोन’को स्थापना गरिएको छ । यस्तै विमानस्थलमा हराएका सामग्री खोज्न र भेटिएको सामग्री राख्न लस्ट एन्ड फाउन्ड युनिट खडा गरिएको छ ।
सुत्केरी आमा र बच्चालाई ध्यानमा राख्दै विमानस्थलले सुविधायुक्त बेबी जोनको स्थापना गरेको हो । अन्तर्राष्ट्रिय उडानका लागि जहाजको पर्खाइमा रहेका बेला बच्चालाई राख्न र दूध खुवाउनका लागि समस्या नहोस् भन्ने उद्देश्यका साथ विमानस्थलभित्रै बेबी जोन सञ्चालनमा ल्याइएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनले जहाज पर्खाइमा रहेका बेला बच्चालाई सुताउन र सुत्केरी आमाहरुलाई आराम गर्न सो कक्ष प्रयोग गर्न सकिने बताए ।
बेबी जोनभित्र बच्चालाई राख्न, सुताउन र खेलाउनका लागि विशेष ठाउँ बनाइएको छ । त्यहाँ टीभीसमेत राखिनेछ, जसले जहाज उडानको तालिका सहजै रुपमा बेबी जोनमा रहेका आमाहरुले थाहा पाउने र आमाहरु ढुक्कका साथ त्यहाँ बस्न सकिने महाप्रबन्धक क्षेत्रीको विश्वास छ ।
हिमालय हर्बलको सहयोगमा विमानस्थलमा बेबी जोन स्थापना भएको हो । बेबी जोनको शुक्रबारबाट सञ्चालनमा ल्याइएको हो । बेबी जोन सञ्चालनको अवसरमा हिमालय हर्बलले अन्तर्राष्ट्रिय उडानका लागि आएका जहाजको पर्खाइमा रहेका आमा र बच्चालाई उपहारसमेत दिइएको छ ।
यस्तै विमानस्थलमा हराएका र भेटिएका सामग्रीहरु खोज्न लस्ट एन्ड फाउन्ड युनिट खडा गरिएको छ । यात्रुहरुले छाडेका सामग्रीहरुलाई सो युनिटले सम्बन्धित व्यक्तिहरुलाई खबर गर्ने र हराएका सामग्री खोज्न सहयोग गर्ने उद्देश्यले लस्ट एन्ड फाउन्ड युनिट बनाएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।
भेटिएका सामग्रीहरु तत्कालै विमानस्थलको वेबसाइटमा राखिने र टेलिफोन गरेर जानकारी गराउने गरिएको जनाएको छ । यस्तै कुनै यात्रुहरुको सामग्रीहरु हराएमा उजुरीको आधारमा सीसी क्यामेरामा हेरेर खोजतलास गर्ने गरिएको बताइएको छ ।