फिल्म सिटि दोलखामै ,मुख्यमन्त्री पौडेल

दोलखालाई नेपालको चौथो गन्तव्यको रुपमा विकास गर्ने घोषणा गरेका मुख्य मन्त्री पौडेलले फिल्म सिटि कुनैपनि हालतमा दोलखाबाट नसर्ने जानकारी दिएका छन् ।

दोलखा । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले फिल्म सिटि दोलखामै बनाउने प्रतिबद्धता जनाएका छन् । आवश्यक पूर्वधारहरु तिब्ररुपमा निर्माण भइरहेको बताउदै प्रदेश सरकारको मातहतमा रहने गरी फिल्म सिटि निर्माण गरिने प्रतिबद्धता जनाएका हुन् ।

भिमेश्वर नगरपालिकाको २३ औं स्थापना दिवसलाई सम्बोधन गर्न दोलखा पुगेका मुख्यमन्त्री पौडेलले फिल्म सिटिको डिपिआर तयार हुने वित्तिकै केन्द्रिय सरकार सँग सहकार्य गरेर प्रदेश सरकारले निर्माणको कार्य अगाडी बढाउने बताएका छन् । दोलखालाई नेपालको चौथो गन्तव्यको रुपमा विकास गर्ने घोषणा गरेका मुख्यमन्त्री पौडेलले फिल्म सिटि कुनैपनि हालतमा दोलखाबाट नसर्ने जानकारी दिएका छन् ।

भिमेश्वर नगरपालिकाको वडा नम्बर ९ स्थीत डाङडुङे डाडामा फिल्म सिटि निर्माणको लागि आवश्यक जग्गा लिइसकेको छ । यस्तै फिल्म सिटि निर्माण स्थलसम्म जाने सडक विद्युतका पोलहरु लगिसकिएको छ । हालसम्म सो फिल्म सिटि निर्माणका लागि करिब ४० करोड भन्दा बढि रकम खर्च भइसकेको छ । केहि महिना अघि प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाका सांसदहरु सँगको भेटमा फिल्म सिटि बनाउन नसकिने प्रतिक्रिया दिएका थिए ।

यसैबीच प्रदेश सभा अन्तरगत क्षेत्र नम्बर २ दोलखाका सांसद पशुपति चौलागाईले प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा फिल्म सिटिको काम अगाडी बढाउने बताएका छन् । क्यापिटल सँगको कुराकानीमा सांसद चौलागाईले केन्द्र सरकारले बजेट बिनियोजन नगरेपनि प्रदेश सरकारको विषेश प्राथमिकतामा फिल्म सिटि रहेकोले अन्यौलमा नरहन दोलखाबासीहरुलाई अनुरोध गरेका छन् ।