कुल निष्कासनको ४० प्रतिशत सर्वसाधारण र बाँकी ६० प्रतिशत संस्थागत लगानीकर्तालाई ऋणपत्र बिक्री गर्नेछ । ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत भई खरिदबिक्री गर्न सकिने र आवश्यक परे धितो राखेर ऋण पनि लिन सकिने बैङ्कले जनाएको छ ।
काठमाडौं । एनआईसी एसिया बैङ्कले (आज) आइतबारदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेञ्चर) निष्कासन गरेको छ । बैङ्कले प्रतिकित्ता १ हजार रुपैयाँ दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । ऋणपत्र निष्कासन छिटोमा माघ १६ र ढिलामा फागुन १३ गते बन्द हुने बैङ्कले जानकारी दिएको छ ।
आगामी आर्थिक वर्ष ०८५/०८६ सम्म १० वर्षका लागि निष्कासन गरिएको ऋणपत्रको ब्याजदर १० प्रतिशत छ । न्युनतम २५ देखि अधिकतम २० लाख कित्तासम्म आवेदन दिन सकिने छ । बैङ्कले लगानी जुटाउन ऋणपत्र निष्कासन गरेको हो । यसअघि गत भदौमा पनि बैङ्कले वार्षिक ११ प्रतिशत ब्याज दिने गरी १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो । सो ऋणपत्र पूरै बिक्री भएको थियो ।
कुल निष्कासनको ४० प्रतिशत सर्वसाधारण र बाँकी ६० प्रतिशत संस्थागत लगानीकर्तालाई ऋणपत्र बिक्री गर्नेछ । ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत भई खरिदबिक्री गर्न सकिने र आवश्यक परे धितो राखेर ऋण पनि लिन सकिने बैङ्कले जनाएको छ ।
ऋणपत्रबाट सङ्कलन हुने रकमको ८० प्रतिशत अर्थात ३ अर्ब २० करोड रुपैयाँ कर्जा सापटी, १० प्रतिशत अर्थात ३० करोड विभिन्न क्षेत्रमा लगानी र ५ प्रतिशत अर्थात २० करोड रुपैयाँ शाखा विस्तार र ५ प्रतिशत अर्थात २० करोड रुपैयाँ विविध क्षेत्रमा लगानी गर्ने बैङ्कले जनाएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैङ्किङ लिमिटेडलाई नियुक्त गरिएकाे छ ।
आउँदो ३ वर्षमा बैङ्कले नाफा बढाएर ७ अर्ब ५० करोड ३० लाख रुपैयाँ पुर्याउने भएको छ । ३ वर्षको अवधिमा बैङ्कले नाफा ६ अर्ब १६ करोड ९० लाख रुपैयाँ थपिने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्षमा बैङ्कले १ अर्ब ३३ करोड ५० लाख रुपैयाँ मात्र नाफा गरेको थियो ।
चालू आर्थिक वर्षमा बैङ्कले ३ अर्ब रुपैयाँ खुद नाफा हुने प्रक्षेपण गरेको छ । यस्तै आगामी आर्थिक वर्षमा ५ अर्ब रुपैयाँ नाफा गर्ने अनुमान छ ।