स्थायी लेखा नम्बरको सम्बन्धमा सरोकार भएका र बजारसँग सम्बद्ध पक्षलाई छलफल गराई पूर्वाधारको तयारीको आधारमा कार्यान्वयन गराइने बोर्डले स्पष्ट पारेको छ ।
काठमाडौ । नेपाल धितोपत्र बोर्डले स्थायी लेखा नम्बर (प्यान)का सम्बन्धमा सरोकारवाला र बजारका सम्बद्ध पक्षसँग छलफल गराई पूर्वाधार तयारीका आधारमा कार्यान्वयनमा ल्याउने भएको छ ।
सरकारको चालू आवको नीति तथा कार्यक्रम र बजेटमा दोस्रो बजारमार्फत सेयर खरीद गर्दा खरीदकर्ताले अनिवार्यरुपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । सो सम्बन्धमा अर्थ मन्त्रालयबाट बोर्डलाई निर्देशन प्राप्त भएकामा त्यसको संवेदनशीलतालाई दृष्टिगत गरी प्रणालीगत तथा अन्य पूर्व तयारीका लागि नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गरिएको प्रवक्ता नीरज गिरीले जानकारी दिए ।
स्थायी लेखा नम्बरको सम्बन्धमा सरोकार भएका र बजारसँग सम्बद्ध पक्षलाई छलफल गराई पूर्वाधारको तयारीको आधारमा कार्यान्वयन गराइने बोर्डले स्पष्ट पारेको छ । बजारको पूर्वाधार, लगानीकर्ताको वित्तीय साक्षरताको अवस्थालाई दृष्टिगत गरी लगानीकर्ताबाट उठाइएका विषयलाई स्थायी लेखा नम्बर लागू गर्ने आन्तरिक राजश्व विभागलाई आवश्यक जानकारी गराइने बोर्डको भनाइ छ ।
बोर्डले अनावश्यक हल्लाको पछाडि नलाग्न र सुझबुझ तरिकाले लगानीसम्बन्धी निर्णय गर्न लगानीकर्तालाई आग्रह गरेको प्रवक्ता गिरीको भनाइ छ । आजै लगानीकर्ताको एक समूहले बोर्डका पदाधिकारीलाई भेट गरी स्थायी लेखा नम्बरका बारेमा ध्यानाकर्षण गराएको थियो । रासस