मन्त्रालयमा पठाइएको ड्राफ्ट स्वीकृत भएर आएपछि लागू गर्ने गरी विभागले तयार पारिरहेको उनको भनाइ छ । होटलहरु खुल्ने क्रम तीव्र भएपनि नयाँ मापदण्ड नभएकै कारण आफूखुसी सञ्चालनमा आएको पाइएपछि विभागले विभिन्न देशको मापदण्डको अध्ययन गरी नेपालमा नयाँ बनाइएको महानिर्देशक घिमिरेको भनाइ छ ।
काठमाडौं । होटल सञ्चालनलाई एकरुपता दिन पर्यटन विभागले अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय मापदण्ड तयारी सुरु गरेको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले मापदण्डको ड्राफ्ट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइसकेको जानकारी दिए ।
मन्त्रालयमा पठाइएको ड्राफ्ट स्वीकृत भएर आएपछि लागू गर्ने गरी विभागले तयार पारिरहेको उनको भनाइ छ । होटलहरु खुल्ने क्रम तीव्र भएपनि नयाँ मापदण्ड नभएकै कारण आफूखुसी सञ्चालनमा आएको पाइएपछि विभागले विभिन्न देशको मापदण्डको अध्ययन गरी नेपालमा नयाँ बनाइएको महानिर्देशक घिमिरेको भनाइ छ ।
नयाँ मापदण्डअनुसार रिसोर्टलाई तीन तहमा विभाजन गरिएको छ । साधारण, डिलक्स र लक्जरी रिसोर्टका रुपमा विभाजन गर्ने प्रस्ताव विभागको छ । यसअघिका मापदण्डमा सबै प्रकारका होटललाई नसमेटिएको भन्दै सबै प्रकारका होटललाई समेट्ने गरी मस्यौदा तयार पारिएको विभागले जनाएको छ ।
टुरिष्ट स्ट्यान्डर्ड होटल, बुटिक होटल, पर्यटक लज तथा पर्यटन इनलाई समेटिएको जनाइएको छ । यसअघिका मापदण्डमा त्यस्ता होटललाई समेटिएको थिएन । यस्तै तारे होटललाई पनि नयाँ मापदण्डभित्र ल्याउन लागिएको जनाइएको छ । यसैगरी प्रदेशस्तरमा पर्यटन ऐन पनि निर्माण हुने भएको छ ।
पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले पर्यटन विभागले पठाएको मापदण्डको मस्यौदा मन्त्री रवीन्द्र अधिकारीसमक्ष पुगिसकेको जानकारी दिँदै केही दिनभित्रै पारित गरेर पठाउने बताए । विभागले पठाएको मस्यौदामा केही छलफल गर्न आवश्यक देखिएकाले कानुन मन्त्रालयलगायत सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने तयारी भइरहेको उनको भनाइ छ ।