नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ७.९२ प्रतिशतमा खुम्चियो, ६ महिनामा १९७ करोड मात्रै

समीक्षा अवधिमा बैंकको निष्क्रय कर्जा अनुपात बढेर २ प्रतिशत नाघेको छ । अघिल्लो वर्षको सोही अवधिमा निष्क्रिय १.१२ प्रतिशत मात्र थियो ।

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नेपाल इन्भेष्टमेन्ट बैकको नाफा ७.९२ प्रतिशत मात्र बढेको छ । गत पुससम्म बैंकले १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैकको नाफा १ अर्ब ८३ करोड रुपैयाँ थियो ।

बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा अघिल्लो वर्षको तुलनामा नाफा साढे १४ करोड रुपैयाँ मात्र बढेको उल्लेख गरेको छ । बैंकले नाफा बढाउन सकेन । बैंकको खुदब्याज आम्दानी ३ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ब्याज आम्दानी २ अर्ब ६८ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रय कर्जा अनुपात बढेर २ प्रतिशत नाघेको छ । अघिल्लो वर्षको सोही अवधिमा निष्क्रिय १.१२ प्रतिशत मात्र थियो । बैंकको सीसीडी रेसियो ७६.४३, आधार दर ८.९६, निक्षेप लागत ६.५९, स्प्रेड दर ४.२४ प्रतिशत रहेको बैंकले जानकारी दिएको छ । प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ९९ पैसा छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ४२ अर्ब १० करोड रुपैयाँ निक्षेप परिरचालन गरी १ खर्ब २७ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा बैकको निक्षेप परिचालन १ खर्ब २९ अर्ब ८४ करोड र कर्जा प्रवाह १ खर्ब १३ अर्ब ६७ करोड रुपैयाँ थियो ।
बैंकको संचित कोषका आकार ११ अर्ब ९७ करोड ७४ लाख रुपैयाँ छ ।