गत पुससम्म बैंकले २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८३ करोड ७७ लाख रुपैयाँ नाफा गरेको थियो ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नविल बैंकको नाफा १८.४५ प्रतिशत बढेको छ । गत पुससम्म बैंकले २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८३ करोड ७७ लाख रुपैयाँ नाफा गरेको थियो ।
बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणमा खुदनाफा ३४ करोड रुपैयाँ बढेको देखाएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी समेत बढेको छ । बैंकले गत पुससम्म ३ अर्ब ६१ करोड १३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ । गत आवको सोही अवधिमा ब्याज आम्दानी २ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ थियो ।
निष्क्रिय कर्जा अनुपात घटेर ०.६२ प्रतिशतमा झरेको छ । अघिलो वर्षको सोही अवधिमा १.१३ प्रतिशत थियो । निक्षेप लागत ५.९२, कर्जा निक्षेप अनुपात ७८.५०, ब्याजदर अन्तर ४.७७ प्रतिशत रहेको बैंकले जानकारी दिएको छ । प्रतिसेयर आम्दानी बढेर ५४ रुपैयाँ २८ पैसा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ७० पैसा थियो ।
६ महिनामा बैंकले १ खर्ब ४९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप परिचालन गरेर १ खर्ब ३० अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको निक्षेप १ खर्ब २१ अर्ब २८ करोड रुपैयाँ र कर्जा लगानी १ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर १४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।