जिरी आउने पर्यटकलाई ५० प्रतिशत छुट

पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गेल्बु शेर्पाले जानकारी दिए ।

जिरी । दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । आजदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् ।

पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गेल्बु शेर्पाले जानकारी दिए । सगरमाथाको प्रवेशद्वारका रुपमा लिइने जिरी सडक विस्तार भएसँगै पुरानो व्यापार घटेर होटल व्यवसाय पनि सुस्ताउन थालेपछि व्यवसायी आफैँ सक्रिय भएका हुन् ।

जिरीमा पर्यटन प्रवर्द्र्धनका लागि स्थानीय व्यवसायीको पहललाई स्थानीय सरकारले पनि साथ दिएको छ । जिरी नगरपालिकाले क्लिन जिरी, ग्रिन जिरी, अर्गानिक जिरी अभियान नै शुरु गरेको छ । नगरपालिकाले अहिले नगरको सरसफाइमा ध्यान दिएको नगर प्रमुख टङ्क जिरेलले जानकारी दिए । नगरपालिकाकै अगुवाइमा पर्यटन प्रवर्द्र्धन गर्न पूर्वाधार निर्माणका कामसमेत अघि बढाएको उनले बताए ।

जिरीमा पछिल्लो समय नयाँ होटल व्यवसायी पनि थपिँदै गएका छन् । आधुनिक सेवासहित युवाले एक दर्जन होटल भूकम्पपछि थपिएका छन् । पर्यटकको सेवाको पहिलो आधार होटल भएकाले होटल व्यवसायी सङ्गठित हुन थालेका छन् । जिरीका होटल व्यवसायी भेला भएर केही दिनअघि वसन्त प्रधानको अध्यक्षतामा होटल सङ्घ जिरीसमेत गठन गरेका छन् ।

“सगरमाथाको प्रवेशद्वार भनेर विदेशीलाई मात्र पर्यटक मानिन्थ्यो”, अध्यक्ष प्रधानले भने, “सडक खुलेपछि पर्यटक जिरीभन्दा पनि सोझै सल्लेरी र बाम्ती पुगेपछि जिरीका होटल र अन्य व्यवसायसमेत सुस्ताएपछि विकल्पको खोजीमा स्वदेशी पर्यटक लक्षित योजना अघि सारेका हौँ ।” जिरीमा पर्यटकको बसाइँ लम्ब्याउन स्थानीय गाइडको समेत व्यवस्था गर्न लागेको उनले जानकारी दिए ।

व्यवसायीले अहिले वैशाखसम्मका लागि छुट अफर दिए पनि त्यसको प्रभावका आधारमा कार्यक्रम आउने व्यवसायीले जानकारी दिए । माघ १५ देखि वैशाखको पहिलो सातासम्म कोठा भाडामा ५० प्रतिशत र खानाका परिकारमा समेत विशेष छुट गर्ने निर्णय भएको होटल व्यवसायीसमेत रहेका जिरी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष बाबुराजा श्रेष्ठले बताए । रासस