सेयर बिक्रीमा अग्रिम रकम नलिन नेप्सेको ब्रोकरलाई चेतावनी

धितोपत्र खरीद गर्दा अग्रिम रकम लिने व्यवस्था भए पनि बिक्री गर्दासमेत अग्रिमरुपमा रकम माग गरेको भन्ने गुनासो आएकाले त्यस्तो नगर्न तथा नगराउन व्यवसायीलाई सचेत गराएको हो ।

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लिमिटेडले सेयर बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ ।

धितोपत्र खरीद गर्दा अग्रिम रकम लिने व्यवस्था भए पनि बिक्री गर्दासमेत अग्रिमरुपमा रकम माग गरेको भन्ने गुनासो आएकाले त्यस्तो नगर्न तथा नगराउन व्यवसायीलाई सचेत गराएको हो ।

धितोपत्र कारोवार सञ्चालन नियमावली, २०७५ लागू भएको र सो विनियमावलीको विनियम ८ मा कारोवार सदस्यले खरीद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्ने भन्ने व्यवस्था रहेको छ । सो व्यवस्था विपरीत धितोपत्र दलाल व्यवसायीले अग्रिम रकम बिक्री कारोवारका लागिसमेत माग गरेको पाइएको नेप्सेले जनाएको छ ।

नेप्सेले विनियममा भएको व्यवस्था विपरीत कुनै पनि कार्य नगर्न आग्रह गरेको छ । सेयर कारोवारमा संलग्नले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै स्टकमा गुनासो गरेकाले त्यस्तो आग्रह गर्नुपरेको स्टकका सुपरिवेक्षण शाखाले जनाएको छ । रासस