प्रधानमन्त्रीले सुरु गरे झापा–काठमाडौँ  रात्रीकालीन हवाई सेवा

पर्यटन मन्त्री अधिकारीले मन्त्री पद सम्हाले लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थललाई २१ घण्टा सञ्चालनमा ल्याउने र आन्तरिक विमानस्थलहरुमा रात्रिकालीन उडान भर्ने घोषणा गरेका थिए । मन्त्री अधिकारीले अबको २ महिनापछि जनकपुरमा पनि रात्रीकालीन उडान गर्ने जानकारी दिएका छन ।

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रगढी विमानस्थल भद्रपुर झापाबाट काठमाडौको रात्रीकालीन हवाई सेवा सुभारम्भ गरेका छन् । यती एयरलाइन्स मार्फत प्रधानमन्त्री ओली झापा बाट काठमाडौको रात्रीकालीन उडान मार्फत काठमाडौ आइपुगेका हुन् ।

झापाबाट प्रधानमन्त्री ओली सँगै संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी,पर्यटन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा लगाएत नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का प्रतिनिधिहरु समेत रात्रीकालीन उडान मार्फत काठमाडौ आएका हुन् ।

यसअघि धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा विराटनगर विमानस्थलमा विगत ५ महिना अघि रात्रीकालीन उडान सञ्चालनमा आएका छन । पर्यटन मन्त्री अधिकारीले मन्त्री पद सम्हाले लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थललाई २१ घण्टा सञ्चालनमा ल्याउने र आन्तरिक विमानस्थलहरुमा रात्रिकालीन उडान भर्ने घोषणा गरेका थिए । मन्त्री अधिकारीले अबको २ महिनापछि जनकपुरमा पनि रात्रीकालीन उडान गर्ने जानकारी दिएका छन ।

क्यानका उपमहानिर्देशक राजन पोखरेलले अव मौजुदा २ हजार २ सय मिटरको भिजिविलिटि सीमान अझै घट्न गई १ हजार ७ सय मिटरको उडान संचालन हुन सक्ने जानकारी दिए । हाल चन्द्रगढी विमानस्थलमा हवाई यात्रु आवागमनको दृष्टिले नेपालको छैठौं प्रमुख विमानस्थल बन्नपुगेको क्यानका उपमहानिर्देशक पोखरेलको भनाइ छ ।

उनले सन् २०१८ मा यस विमानस्थलमा २ लाख २८ हजार १२८ हवाई यात्रुको आवागमन भएको जानकारी दिए । सो विमानस्थलमा बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सको दैनिक २–२ वटा गरी कुल ६ वटा र नेपाल वायुसेवा निगमको हप्ताको ३ वटा नियमित उडानहरु संचालन भइरहेका छन् ।

आन्तरिक विमानस्थलहरुको सुदृढीकरण तथा स्तरोन्नती कार्यक्रम बमोजिम हालसम्म प्राधिकरणले ३१ वटा विमानस्थलहरुमा धावनमार्ग, ट्याक्सीमार्ग तथा विसान क्षेत्र कालोपत्रे गरिसकेको छ । साथै विमानस्थलहरुमा समयानुकुल उड्डयन संचार तथा मौसमी उपकरणहरुको आधुनिकिकरण कार्य पनि जारी रहेको छ । नेपालको पूर्वी हवाई नाकाको रुपमा रहेको चन्द्रगढी विमानस्थललाई एक सुविधा सम्पन्न विमानस्थलमा परिणत गर्ने योजना अनुरुप विभिन्न कार्यक्रमहरु संचालनमा रहेका छन् ।

त्रिभुवन विमानस्थलमा बढ्दो हवाई चापलाई दृष्टिगत गरी तराईमा अवस्थित पश्चिममा धनगढी देखि पूर्वमा चन्द्रगढी सम्मका विमानस्थलहरुलाई रात्रीमा समेत संचालन योग्य बनाउने उद्देश्य अनुरुप यस विमानस्थलमा करीव १२ करोड रुपैयाको लागतमा एयरफिल्ड लाइटिंग प्रणाली जडान कार्य लक्ष्य भन्दा ३ महिना अघि नै सम्पन्न भई प्राधिकरण सम्बद्ध प्राविधिकको सहभागीतामा बुद्ध एयरबाट बुधबार मात्र सफल टेष्ट उडान भएको थियो ।