लगानीकर्ताको आकर्षण घटेका बेला एनएमबी र सनराइज बैङ्कले ४ अर्बको ऋणपत्र ल्याउँदै

एनएमबीले १० वर्षका लागि र सनराईजले ५ वर्षका लागि निष्कासन गर्न लागेको बोर्डले जनाएको छ । सनराईजले वार्षिक १० प्रतिशत ब्याज दिने गरी ऋणपत्र निष्कासन गर्न लागेको हो ।

काठमाडौं । लगानीकर्ताको आकर्षण घटेका बेला फेरि दुई वाणिज्य बैङ्कले ऋणपत्र निष्कासन गर्न लागेका छन् । एनएमबी बैङ्क र सनराइज बैङ्कले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेका हुन् ।

एनएमबीले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता र सनराइजले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेका हुन् । कुल निष्कासनमध्ये १ अर्ब ६० करोड रुपैयाँ सर्वसाधारण र २ अर्ब ४० करोड रुपैयाँ संस्थागत लगानीकर्तालाई निष्कासन हुने छ ।

ऋणपत्र निष्कासनका लागि दुवै बैङ्कले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । एनएमबीले १० वर्षका लागि र सनराईजले ५ वर्षका लागि निष्कासन गर्न लागेको बोर्डले जनाएको छ । सनराईजले वार्षिक १० प्रतिशत ब्याज दिने गरी ऋणपत्र निष्कासन गर्न लागेको हो ।

सनराईजको ऋणपत्रको अवधि ०८० र एनएमबीको ०८५ सालसम्म रहेको छ । एनएमबीले सिद्धार्थ क्यापिटल लिमिटेड र सनराइजले प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोकेका छन् ।

पछिल्लो समयमा ऋणपत्र बिक्री हुन छाडेको छ । गत भदौमा एनआईसी एसिया बैङ्कले १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्रबाहेक सानिमा बैङ्क, सिद्धार्थ बैङ्कको ऋणपत्र पूरै बिक्री भएन । यस्तै एनआईसी एसियाले निष्कासन गरेको ४ अर्ब रुपैयाँको ऋणपत्र पनि बिक्री नभएपछि म्याद थप गरिएको छ ।बैङ्कहरुले लगानीको स्रोत जुटाउन ऋणपत्र निष्कासन गरेका हुन् । मुद्दती निक्षेपको ब्याजदरका कारण ऋणपत्र बिक्री हुन छाडेको बैङ्करुहरुको भनाइ छ ।

साउनयता ११ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन भएको छ । यसमध्ये ग्लोबल आईएमई बैङ्कको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन हुन बाँकी छ ।