मजदुर फकाउँदै रेबान, वार्तामा आउन अनुरोध

रेष्टुरेन्टमा क्रियाशील विभिन्न संगठनहरुले आइतबार दिउँसो देशव्यापी आन्दोलन गर्ने तयारी गरिरहेको बेला रेबानले विज्ञप्ति जारी गरी वार्ता र संवादमार्फत समस्या समधान गर्न अनुरोध गरेका छन् ।

काठमाडौ : आन्दोलनरत मजदुरहरुलाई वार्तामा आउन रेबानले आह्वान गरेको छ । वार्ता र संवादमार्फत नै समस्या समधान गर्न सकिने भन्दै आन्दोलनका कार्यक्रमहरु फिर्ता दिन आग्रह गरेको हो ।

रेष्टुरेन्टहरुमा ग्राहकमार्फत उठाउँदै आएको १० प्रतिशत सेवा शुल्क नलिने घोषणा गरेसँगै त्यसमा आबद्ध मजदुर युनियनहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान )ले गत सोमबारबाट सेवा शुल्क नलिने निर्णय गरेसँगै मजदुर सङ्गठनहरु आक्रोशित हुँदै आन्दोलनको घोषणा गरेका थिए ।

रेष्टुरेन्टमा क्रियाशील विभिन्न सङ्गठनहरुले आइतबार दिउँसो देशव्यापी आन्दोलन गर्ने तयारी गरिरहेको बेला रेबानले विज्ञप्ति जारी गरी वार्ता र संवादमार्फत समस्या समधान गर्न अनुरोध गरेका छन् ।

रेवानका महासचिव अरनिको राजभण्डारीले विज्ञप्ति जारी गर्दै सेवा शुल्क खारेजसँगै प्रतिष्ठानका मजदुरहरुमा पर्न जाने आशिंक आर्थिक असरलाई मध्यनजर गर्दै नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा कोष मन्त्रालयले जारी गरेको श्रम ऐनअनुसारको न्यूनतम तलब भत्ता कार्यान्यवनमा विशेष पहल गर्ने,ग्राहकहरुबाट उठ्ने टिप्स शतप्रतिशत मजदुरमा बाँड्ने तथा व्यवस्थापन पक्षबाट अन्य अतिरिक्त आर्थिक लाभ गराउन प्रतिबद्धता जनाउँदा जनाउँदै पनि विभिन्न मजदुर युनियनहरुले आन्दोलनको घोषणा गरी धम्की र त्रास फैलाएको भन्दै आपत्ति जनाएका छन् ।

सर्वोच्च अदालतबाट समेत सेवा शुल्क उठाएको विषयमा कारण देखाउ आदेश आइसकेको अवस्थामा मजदुरहरुले एक्लौटीरुपमा आन्दोलनको घोषणा गर्नुको कुनै औचित्य नभएको बताएका छन् । महासचिव राजभण्डारीले मजदुरहरुलाई तत्काल आन्दोलनको घोषणा फिर्ता गरी सहमतिमा आउन आग्रह गरेका छन् ।