मङ्गलबार नेप्सेमा कारोबार भएका सम्पूर्ण सामूहगत परिसूचक घट्दा त्यसको असर पनि समग्र नेप्सेमा परेको हो । कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेर १४ सयभन्दा तल झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको हुनाले सेयर बजार फकर्ने सीएफए हेमन्त बस्यालको भनाइ छ ।
पछिल्लो समय राजनीतिक अस्थिरता सकिएको हुनाले पनि सेयर बजार बढ्ने आशा रहेको उनले बताए । आगामी दिनमा हुने आर्थिक गतिविधिले सेयर बजारलाई चलायमान बनाउने उनको विश्लेषण छ । कारोबार रकमलाई हेर्दा सेयर लगानीकर्ता बिक्रीका लागि नहतारिएको सङ्केत देखिन्छ ।
यो साताको तेस्रो दिन मङ्गलबार ९.०५ अङ्कले घटेर नेप्से परिसूच्क १३९३.०४ बिन्दुमा आइपुगेको छ । मङ्गलबार नेप्सेमा कारोबार भएका सम्पूर्ण सामूहगत परिसूचक घट्दा त्यसको असर पनि समग्र नेप्सेमा परेको हो । कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । घटेको बजारमा पनि फर्वार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ३० रुपैयाँ कमाएका छन् । तर, मङ्गलबार सबैभन्दा धेरै प्रतिकित्ता ९१ रुपैयाँ कालिका माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाए । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अङ्कले घटेको छ ।
नेप्सेमा कारोबार भएका विकास बैङ्क ३.४५, वित्त ३.८३, बिमा ८७.६५, अन्य ०.३६, लघुवित्त ९.२१, बैङ्किङ ६.६७, व्यापार ०.५, होटल ३७.२९ र जलविद्युत् २९.४८ र उत्पादनमूलक समूह ३.४१ अङ्कले घटेका छन् । तर, मङ्गलबार कारोबार भए पनि उत्पादनमूलक समूहमा कुनै परिवर्तन भएन । नेप्सेमा १ सय ५५ कम्पनीको ३ हजार ८ सय ६२ कारोबारबाट ३२ करोड २६ लाख रुपैयाँबराबरको ८ लाख २८ हजार ७ सय ७ कित्ता सेयर किनबेच भएको छ ।