बाराको निजगढमा निर्माण हुने विमानस्थल आसपास रहेका रुख काट्ने विषयको विवाद अझै समधान भइसकेको छैन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलबाट यो विमानस्थल बनाउने घोषणा गरिरहेका छन् ।
काठमाडौं : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि कतार सरकार इच्छुक देखिएको छ । कतार राजदूतावासले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग यस विषयमा छलफल गरेको छ ।
कतारका राजदूत युसुफ बिन मोहमद अल हेलबीच छलफल भएको मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बताए । ‘कतार सरकारले राजदूतमार्फत विमानस्थल बनाउने प्रस्ताव पठाएको छ,’ सचिव देवकोटाले भने, ‘उहाँहरुले चासो राखेका कारण सामान्य छलफल गरेका हौं ।’
मन्त्रालयले निजगढ विमानस्थलको विषयमा जानकारी गराएको उनको भनाइ छ । विमानस्थल निर्माणका लागि कतारबाहेक अन्य देशले पनि इच्छा राख्न सक्ने भएकाले सबैसँग छलफल गरेर मात्र निर्णयमा पुग्ने सचिव देवकोटाले जानकारी दिए ।
बाराको निजगढमा निर्माण हुने विमानस्थल आसपास रहेका रुख काट्ने विषयको विवाद अझै समधान भइसकेको छैन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलबाट यो विमानस्थल बनाउने घोषणा गरिरहेका छन् ।
विमानस्थल निर्माणका लागि ८ हजार ४५ हेक्टर जमिन आवश्यक पर्ने र २४ लाख ५० हजार ८०० रुख काटिनेछन् । तर पहिलो चरणमा २ हजार ५०० हेक्टर जमिन र ७ लाख ६९ हजार ६६३ ओटा मात्र रुख कटान गर्ने तयारी गरेको छ । विमानस्थल निर्माण क्षेत्रका १ हजार ४ सय ९४ घरधुरी विस्थापित हुनेछन् ।