ग्रिनलाइफ हाइड्रोपावरको आईपीओ खुल्यो, आशा लघुवित्तको मंगलबार अन्तिम दिन

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । माग भन्दा बढी आवेदन परेपछि आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज मंगलबारसम्म मात्र खुल्ने भएको छ ।

ग्रिनलाइफले आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयबासिन्दालाई १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासन बन्द छिटोमा फागुन ७ र ढिलोमा सोही महिनाको २७ गते हुने छ । न्युनतम २० देखि अधिकतम ९ हजार कित्तासम्म आवेदन दिन पाइने निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाउँपालिकाका स्थानीय बासिन्दाले आईपीओ भर्न पाउने छन् । जसअनुसार गौरीशंकरको मार्वु, सुरी, चंखु, खारे, जुगु, झयाकु र विगुका स्थानीबासिन्दाले आईपीओ भर्न सक्ने काठमाडौं क्यापिटलले जनाएको छ ।

कम्पनीले कुल १ अर्ब ८० करोड रुपैयाँ बराबरको १ करोड ८० कित्ता मध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि १० प्रतिशत निष्कासन गर्न लागेको हो । १० प्रतिशत आईपीओ निष्कासनपछि कम्पनीको चुत्तापुँजी १ अर्ब ४४ करोड रुपैयाँबाट बढेर १ अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । सर्वसाधारणलाई १० प्रतिशत अर्थात १८ करोडको निष्कासन गरेपछि चुत्तापुँजी १ अर्ब ८० करोड रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ ।

केयर नेपाल लिमिटेडले कम्पनीलाई आईपीओ ग्रेड ४ प्रमाणपत्र दिएको छ । कम्पनीले हाल ४० मेगावाटको खानीखोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट आउदो चैतदेखि बिजुली उत्पादन हुने छ ।

आयोजना बनाउन ६ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनाको प्रतिमेगावाट लागत १५ करोड ९८ लाख रुपैयाँ हुने छ । आयोजनाबाट ७ वर्ष ४ महिनामा लगानी फिर्ता हुने छ ।

यस्तै आशा लघुवित्तले शुक्रबारदेखि ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओ मध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको संस्थाले जनाएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरिएको छ ।

माग भन्दा बढी आवेदन परेपछि मंगलबारसम्म मात्र आईपीओ खुल्ने निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओ न्युनतम १० देखि अधिकतम ३ हजार ३७० कित्तासम्म भर्न पाइने छ । आईपीओ निष्कासनपछि चुत्तापुँजी २० करोड ७४ लाख रुपैयाँ पुग्ने छ । हाल चुत्तापुँजी १४ करोड रुपैयाँ मात्र छ । केयर नेपाल लिमिटेडले संस्थालाई केयर आईपीओ ग्रेड ४ प्रमाणपत्र दिएको छ ।