भारतीय पर्यटक बोलाउन पोखेरली पर्यटन व्यवसायी सिलगुडीतर्फ

बिटिएममा सहभागिताका साथै त्यहाँका पर्यटन व्यवसायीसँग व्यावसायिक साझेदारीका विविध पक्षबारे व्यापक छलफल गरिने पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेले जानकारी दिए ।

पोखरा । पोखरामा भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायी भारतको सिलगुडीतर्फ गएका छन् ।

पोखरा पर्यटन परिषदको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्रधनमा २२ सदस्यीय टोली भारतको सिलगुडीमा त्यहाँका उत्तरपूर्वी राज्यका पर्यटन व्यवसायीको साझा संस्था इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएशन (इथवा)ले आयोजना गर्ने बङ्गाल ट्राभल मार्ट(बिटिएम)मा सहभागी हुनेछ ।

बिटिएममा सहभागिताका साथै त्यहाँका पर्यटन व्यवसायीसँग व्यावसायिक साझेदारीका विविध पक्षबारे व्यापक छलफल गरिने पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेले जानकारी दिए ।

पोखरेलका अनुसार पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यका साथ पाँच वर्ष वर्षअघि नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको पहलमा पोखरा पर्यटन परिषद् र इथवाबीच सम्झौतापत्रमा संयुक्त हस्ताक्षरसमेत भएको थियो । सम्झौतापत्रमा पोखरा पर्यटन परिषद्का तत्कालीन अध्यक्ष सोम थापा र इथवाका अध्यक्ष सुवासजी चक्रवर्तीले हस्ताक्षर गरेका थिए । र्। सम्झौतामा व्यावसायिक दक्षता अभिवृद्धि, संयुक्त प्रचारप्रसार, व्यावसायिक नेटवर्किङ, प्रवद्र्धनलगायतका विषय समेटिएको थियो ।

भारतका उत्तरपूर्वी राज्यबाट पोखरा आउने क्रम पनि वर्षेनी बढ्दै गएको जानकारी दिँदै अध्यक्ष पोखरेलले नेपाली भाषीको बाहुल्य रहेको त्यो ठाउँ नेपालको धर्म संस्कृतिसँग पनि उत्तिकै मिल्ने भएकाले पर्यटकीय साझेदारीका धेरै सम्भावना रहेको बताए ।

आगामी माघ २७ गतेसम्म हुने प्रवद्र्धनात्मक भ्रमणमा भारतको सिलगुडी, गुवाहाटीलगायतका शहरमा पोखराको पर्यटन प्रवद्र्धन गरिने छ । प्रवद्र्धन टोलीलाई पोखरा विमानस्थलमा बिदाइ गर्दै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणि लामिछानेले पोखरामा भारतीय पर्यटकको आगमनका साथै बसाई लम्ब्याउन कार्यक्रम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष केदारनाथ शर्माले दुई ठूला मित्रराष्ट्र चीन र भारतका पर्यटकलाई अधिकतम रूपमा नेपालमा आकर्षण गर्नसके मात्र पनि यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाका अनुसार उत्तरपूर्वी भारतका पश्चिम बङ्गाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरमलगायतका राज्यबाट धेरै पर्यटक धार्मिकरूपले पनि नेपालको भ्रमणमा आउने गरेका छन् ।

नेपालमा आउने कूल विदेशी पर्यटकमध्ये सन् २०१८ मा १७।०९ प्रतिशत भारतीय पर्यटक हवाई मार्गहुँदै आएको तथ्याङ्कले देखाउँछ । सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटक हवाई मार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडक मार्गबाट आएका थिए ।

नेपाल आउने विदेशी पर्यटक नेपालपछि भुटान र सिक्किम जाने भएकाले नेपालको पर्यटकीय आकर्षणले उत्तरपूर्वी भारतसहित भुटानमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेका कारण उत्तरपूर्वी भारतमा हुने प्रवद्रधनात्मक कार्यक्रमलाई अत्यधिक महत्वका साथ हेरिएको छ ।रासस