पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको लगानी रहेको सो एयरलाइन्सले केही समयअघि ५० लाख रुपैयाँ दिएर १ महिनाको म्याद थप गरेको थियो ।
काठमाडौ । १ महिना भित्र विमानस्थल प्रयोग गरेबापत तिर्नु पर्ने शुल्कको बक्यौता रकम नतिरे हिमालय एयरलाइन्सको जहाज ग्राउन्डेड गरिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बक्यौता तिर्न हिमालय एयरलाइन्सलाई पुस ३० गते एक महिनाको समय अवधि दिएको थियो । एयरलाइन्सले पुन समय माग गरेको कारण १ महिनाको अवधि दिइएको जनाएको छ ।
एक महिना अवधिमा एयरलाइन्सले बक्यौता रकम नतिरे जहाज ग्राउन्डेड गरिने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । पटक पटक ताकेता गर्दा पनि रकम नतिरेको भन्दै यो पटक अन्तिम मौका दिइएको उनको भनाइ छ ।
हिमालयले करिब १४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । नेपाल र चीनको संयुक्त लगानीमा सन् २०१४ देखि सञ्चालनमा आएको हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको दमाम, यूएईको दुबई र कतारको दोहामा नियमित उडान गर्दै आएको छ । हिमालय एयरलाइन्ससँग ३ ओटा बोइङ विमान छन् ।
पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको लगानी रहेको सो एयरलाइन्सले केही समयअघि ५० लाख रुपैयाँ दिएर १ महिनाको म्याद थप गरेको थियो । विमानस्थललाई तिर्नुपर्ने बक्यौता नतिरेपछि निजी क्षेत्रको अर्को हवाई कम्पनी सौर्य एयरलाइन्सको दुई महिनाभन्दा बढी समयदेखि उडान बन्द छ । करिब ३ करोड रुपैयाँ बक्यौता भुक्तान गर्न नसकेपछि सौर्यका जहाज ग्राउन्डेड भएका हुन् ।