श्रीले पायो अन्तर्राष्ट्रिय उडान अनुमति, पोखरा पनि फागुनमा उड्ने

गतवर्षको भदौबाट व्यावसायिक यात्रा सुरु गरेको श्री एयरलाइन्सले पहिलो पटक अन्तर्राष्ट्रिय लाइसेन्स पाएको हो । श्रीले तीन ओटा जहाज उडाउन सक्छ । श्रीसँग चार ओटा जहाज भएपनि अन्तर्राष्ट्रिय उडानका लागि तीन ओटाको मात्र अनुमति छ ।

काठमाडौं । उडड्यन व्यवसायमा पछिल्लो पटक ‘गेमचेन्जर’ बनेको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको छ । करिब २ वर्षदेखि लाइसेन्सका लागि प्रक्रियामा गएको श्रीले यही सोमबार लाइसेन्स पाएको हो ।

श्रीसँग हेलिकप्टरको लाइसेन्स थियो, अब जहाजको पनि लाइसेन्स पाएको हो । ‘हेलिकप्टरको लाइसेन्स जुन प्रकृतिको थियो, जहाजका लागि पनि सोही प्रकृतिको लाइसेन्स दिइएको हो,’ संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने, ‘अब श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानका लागि बाटो खुलेको छ ।’

गतवर्षको भदौबाट व्यावसायिक यात्रा सुरु गरेको श्री एयरलाइन्सले पहिलो पटक अन्तर्राष्ट्रिय लाइसेन्स पाएको हो । श्रीले तीन ओटा जहाज उडाउन सक्छ । श्रीसँग चार ओटा जहाज भएपनि अन्तर्राष्ट्रिय उडानका लागि तीन ओटाको मात्र अनुमति छ ।

अन्तर्राष्ट्रिय लाइसेन्स पाएपछि अब श्री एयरलाइन्सले भारतका मुख्य मुख्य सहरमा जहाज उडाउने तयारी थालेको छ । अन्तर्राष्ट्रिय उडानका लागि एयरलाइन्सलाई अब एओसीको आवश्यकता पर्छ, त्यसका लागि केही समय लाग्ने छ । एओसी पाउनासाथ जहाज उड्न सुरु गर्ने कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि श्री एयरलाइन्ससँग भएका चार ओटै जहाज ५ घण्टासम्म आकाशमा उडन सक्छन् । यस हिसाबले हेर्दा श्री एयरलाइन्सका विमानमा बैङलोरसम्म उडान गर्न सक्ने क्षमता छ । काठमाडौं–दिल्ली–काठमाडौं दुई घण्टाको मात्रै उडान हो । त्यसका अतिरिक्त भारतका अन्य धेरै ठाउँमा श्री एयरलाइन्स उड्न सक्ने छ ।

यसअघिसम्म डोमेस्टिक उडान गर्दै आएको बुद्ध एयरसँग मात्रै अन्तर्राष्ट्रिय उडानका लागि लाइसेन्स थियो ।

फागुन अन्तिम सातादेखि पोखरा पनि उड्ने
काठमाडौंबाट ६ ओटा डेस्टिनेसनमा उडान गर्दै आएको श्री एयरलाइन्सले फागुन अन्तिमबाट पोखरा र भरतपुरसमेत उडान गर्ने भएको छ ।

श्री एयरलाइन्सले बमवार्डियर क्यू ४०० जहाजमार्फत् पोखरा उडान गर्ने तयारी थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएपछि कम्पनीले पाइलटलाई तालिमका लागि इथोपियन एयरको तालिम केन्द्रमा पठाउने भएको छ ।

कम्पनीले पहिलो चरणमा दुई ओटा जहाजबाट घरेलु उडान गर्न सुरु गर्ने छ । प्राधिकरणबाट तीन ओटा जहाजका लागि अनुमति पाएपनि घरेलु उडानका लागि तत्काल दुई ओटा जहाज ल्याउने छ । दुई डेस्टिनेसनबाहेक अन्य क्षेत्रमा पनि उड्ने पक्का भएपछि अर्को जहाज पनि ल्याउने कम्पनीको सोचाइ छ ।

पोखरा र भरतपुरमा उड्ने जहाज ७८ सिटका हुनेछन् । एयरलाइन्सले बम्बार्डियर कम्पनीले बनाएको टर्बोपर्प इन्जिन ल्याउन लागेको हो ।

श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले पर्यटन वर्ष २०२० लाई उपलब्धिमूलक बनाउन र त्यस गन्तव्यमा जाने यात्रुलाई थप सहजता ल्याउन नयाँ जहाज ल्याउन लागेको बताए । ‘लो सिजन’मा पनि पोखरामा भारतीय तथा चिनियाँ पर्यटकको आवागमन बढ्ने भएकाले श्रीले पोखरा उडान गर्न लागेको मानन्धरले बताए ।

श्रीसँग बम्बार्डिएरको ५० सिटका दुइटा र ७० सिटका दुइटा गरी चार ओटा जहाज छन् । श्रीले दसैंअघि नै पोखरा, भरतपुर, जनकपुर, सिमरा र सुर्खेतमा उडान गर्ने तयारी गरे पनि प्राधिकरणले अनुमति नदिँदा उडान गर्न पाएको थिएन ।

याे पनि पढ्नुहाेस्

श्री एयरलाइन्स जसले एक वर्षमै ५० प्रतिशत भाडा घटायो