चालु वर्षको ६ महिनाको राजस्व असुली र आगामी दिनमा राजस्व सङ्कलनको अवस्थाका बारेमा गहन छलफलपछि कम्तीमा वार्षिक लक्ष्यको २० प्रतिशत राजस्व बढाउनुपर्ने निस्कर्षमा पुगेको हो ।
अर्थ मन्त्रालयले यस वर्ष राजस्व कम्तीमा चालु आर्थिक वर्षको लक्ष्यभन्दा २० प्रतिशत बढी उठाउन राजस्व प्रशासनलाई निर्देशन दिएको छ । चालु वर्षको ६ महिनाको राजस्व असुली र आगामी दिनमा राजस्व सङ्कलनको अवस्थाका बारेमा गहन छलफलपछि कम्तीमा वार्षिक लक्ष्यको २० प्रतिशत राजस्व बढाउनुपर्ने निस्कर्षमा पुगेको हो ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ महिनामा तोकिएको राजस्व असुली भएपनि राजस्व प्रशासनमा क्रियाशील पदाधिकारीहरुले आत्मसमीक्षा गर्दै र आफ्नो कर्तव्यलाई केन्द्रविन्दुमा राखेर उच्च नैतिकताका साथ आर्थिक वर्ष २०७४÷७५ मा तोकिएको राजस्व लक्ष्य ७ खर्ब ३० अर्ब ५ करोडको कम्तीमा २० प्रतिशत बढी असुली गर्नेगरी क्रियाशील रहन निर्देशन दिए । कुल राजस्व लक्ष्यमा २० प्रतिशत बृद्धि भएमा सरकारी ढुकुटीमा थप १ खर्ब ४६ अर्व रुपैयाँ थपिएर ८ खर्व ७६ अर्व ६ करोड रुपैयाँ पुग्छ । मुलुक सङ्घीयतामा प्रवेश गरिसकेको सन्दर्भमा कर प्रशासन प्रभावकारी नभए खर्च धान्न कठिन हुने भन्दै उनले त्यसका लागि केन्द्रीय तहबाटै कर सङ्कलनमा देखिएका समस्या छिटो समाधानतर्फ अग्रसर हुनुपर्ने बताए । तर, ६ महिनाको राजस्व सङ्कलनको अवस्थाले लक्ष्यमा थप २० प्रतिशतको बृद्धिलाई सहयोग गर्ने सम्भावना निकै कम छ । गत वर्षको तुलनामा हेर्दा ६ महिनाको बृद्धि दर २०.७३ प्रतिशत देखिन्छ ।
त्यसअवसरमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले मुलुकको खर्चको आवश्यकता र माग बढिरहेको सन्दर्भमा अपेक्षित लक्ष्यभन्दा बढी असुली गरेर राजस्व प्रशासनका कर्मचारीले आफूहरुको कार्यसम्पादन उच्च कोटीको रहेको देखाउने बेला आएको बताए । पुससम्मको लक्ष्य ३ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ रहेकोमा लक्ष्यभन्दा करिब १ अर्ब रुपैयाँ बढी असुली भएको छ । पुससम्म ३ खर्ब ३५ अर्व १० करोड रुपैयाँ राजस्व असुली भएको छ । यो अवधिमा सङ्कलित राजस्व वार्षिक लक्ष्यको ४५.९ प्रतिशत हो भने ६ महिनाको लक्ष्यको ०.२९ प्रतिशतले मात्रै बढी हो । यस्तो अवस्थामा बाँकी अवधिमा २० प्रतिशतले थप राजस्व सङ्कलन गर्नु निकै कठिन हुनेछ ।
अर्थ सचिव शङ्करप्रसाद अधिकारीले समयानुकूल पृथक कार्यशैली, व्यवहार र क्रियाशीलताले मात्रै राजस्व लक्ष्य प्राप्त हुने बताए । ‘भन्सारतर्फ वस्तु वर्गीकरण र मूल्याङ्कनलाई यथार्थपरक बनाई तस्करी एवम् चोरीपैठारी नियन्त्रण गर्नु आवश्यक छ’, उनले भने, ‘आन्तरिक राजस्वतर्फ अनुसन्धानलाई तथ्यमा आधारित बनाएर ठोस एवम् नतिजामुखी बनाउन र कर परीक्षणको गुणस्तर वृद्धि गर्नु जरुरी छ ।’
कार्यक्रममा राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले कर प्रशासनको शाख जोगिने गरी दक्षता एवं परिणाममुखी कार्य सम्पादन गरी लक्ष्य हासिल गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए । अर्थतन्त्र र व्यापारको आकार बढेसँगै उपभोग बढेपनि त्यसअनुरुप राजस्व सङ्कलनमा बढोत्तरी हुन नसकेको भन्दै उनले कर खाडल (ट्याक्स ग्याप)को खोजी गर्न कर्मचारीलाई निर्देशन दिए । त्यसअवसरमा नेपाल राष्ट्र बैङ्कका कार्यवाहक गभर्नर चिन्तामणि सिवाकोटीले विद्यमान कर खाडलका क्षेत्रहरुको पहिचान गरी करको दायरा बढाउनुपर्ने, हुण्डी कारोबार नियन्त्रण गर्नुपर्ने, आयात वृद्धिको तुलनामा भन्सार महसुल एवं अन्य करहरु बढ्न नसक्नुको कारणको खोजी गर्नुपर्नेमा जोड दिए ।