सर्वाेच्चले एनसेललाई कर तिर्न भनेपछि मलेसियामा आजिक्यटाको सेयरमा गिरावट

नेपालमा रहेको एनसेलको प्यारेन्ट कम्पनी मलेसियाको आक्जियटा गु्रप बीएचडीको सेयरमूल्यमा शुक्रबार ४.८७ प्रतिशतले गिरावट आएको छ ।

मलेसियाको स्थानिय सञ्चारमाध्यम द सन डेलीका अनुसार नेपालमा सर्वाेच्च अदालतले एनसेल बिक्रीवापतको ६१ अर्ब लाभकर तिर्नुपर्ने फैसला गरेपछि मलेसियामा आक्जियटाको सेयरमूल्यमा गिरावट आएको हो ।

सर्वाेच्च अदालतले बुधबार एनसेल प्राइभेट लिमिडेडको स्वामित्व बिक्रीमा लाग्ने सम्पूर्ण पुँजीगत लाभकर तिर्न एनसेल र आक्जियटाको नाममा परमादेश जारी गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५ न्यायाधीश सम्मिलत पूर्ण इजलासले यस्तो फैसला गरेको हो । एनसेलमा ८० प्रतिशत स्वामित्व मलेसियाको आक्जियटाको छ ।

सर्वोच्चले एनसेलको बहुमत स्वामित्व लिएको आक्जियटाले नै बिक्री लाभकर तिर्नुपर्ने ठहर गरेको हो । बेन्चले एनसेल आक्जियटाको बहुमत स्वामित्व भएकाले लाभकर तिर्ने पनि उसैको दायित्व भएको परामदेश जारी गरेको छ । रेनल्ड होल्डिङ्स लिमिटेड कागजी कम्पनी मात्र भएको र प्राविधिक रुपमा उसैले लाभकर तिर्नुपर्ने परमादेशमा उल्लेख छ ।

सर्वोच्च अदालतको पूर्ण इजलासले रेनल्ड होल्डिङ्सको तर्फबाट देवेन्द्रप्रसाद न्हुच्छे प्रधान र एनसेलका तर्फबाट अमरबहादुर थापाले दायर गरेको रिट खारेज गरेको छ । द्वारिकानाथ ढुङ्गेलसमेत ५ जनाले हालेको रिट जारी हुने ठहर गर्दै प्रधानन्यायाधीश राणा नेतृत्वको पूर्ण इजलासले परमादेश जारी गरेको हो । गत असोज १८ गतेदेखि एनसेल लाभकर विवादको अन्तिम सुनुवाइ सुरु भएको थियो ।