विदेशमा लगानी खोल्न ढिला गर्न हुन्न

हामीले विदेशमा खर्बपति व्यक्ति जन्माउन सक्यौं भने त्यो राम्रो हुन्छ । नेपालको अर्थतन्त्र एकदमै सानो छ । यहाँ अर्बपति जन्माउन पनि गाह्रो छ । तर एउटा नेपाली उता गएर खर्बपति भयो भने त्यसले केही न केही रुपमा नेपालको विकासमा काम गरिहाल्छ ।

पछिल्लो समय नेपालीहरुले अनेकन विधिबाट विदेशमा पैसा लैजाने वा विदेशमै बसेर कमाउने र त्यहाँ लगानी गर्ने गरेको पाइन्छ । खासगरी अध्ययनका क्रममा जापान गएका भवन भट्ट त्यहीँको कमाइ सदुपयोग गर्दै व्यवसायमा सक्रिय भए । उनी गत वर्ष गैरआवासीय नेपाली सङ्घ (एनआएनए)का अध्यक्ष बने । एनआरएन जापानका अध्यक्षसमेतको भूमिका निर्वाह गरिसकेका भट्टले एक वर्षको अवधिमा सरकार र निजीक्षेत्रसँग बसेर स्वदेशी तथा विदेशी लगानी भित्र्याउनेबारे विभिन्न मञ्चहरुमा छलफल गरेका छन् । जापानसँगै नेपाल र युरोपमा पनि लगानी विस्तार गरिरहेका भट्टसँग विदेशमा बस्ने नेपालीले गरेको लगानीमा केन्द्रित भएर क्यापिटलले गरेको कुराकानी :

 
एनआरएनका विभिन्न स्थानमा क्षेत्रीय अधिवेशन भइरहेका छन्, विदेशमा एनआरएनहरुको लगानी कसरी अघि बढिरहेको तपाईंको विश्लेषण छ ? स्वदेशमा पनि कसरी अघि बढेको छ ?

यो देशको अर्थतन्त्रमा भर पर्ने कुरा हो । जस्तो कि, अस्टे«लियामा बजार बुम भइरहेको बेला मध्यपूर्वमा लगानीको आवश्यकता हुन्छ । वैश्विक परिदृश्यबाट हेर्दा यस्तो भएको छ । हामी पहिलो एनआरएन भएकाले त्यहाँ अभ्यास गर्दै लगानी गरिरहेका छौं । लगानी गर्ने बानी भइरहेका साथीहरुले बाहिर लगानी बढाइरहेका छन् । जस्तो कि, जापानकै कुरा गर्ने हो भने, त्यहाँ दुई ओटा रेस्टुराँ भएका साथीहरुले दुई थपेर चार बनाउनुभएको छ । अनुभव हुँदैमा बढ्छ भन्ने पनि होइन । कतिपय अवस्थामा विदेशमा अनुभव लिएर स्वदेशमा लगानी गर्ने तयारीमा पनि केही साथी हुनुहुन्छ । जसरी नेपालमा बिजनेस हाउसहरुले विभिन्न स्थानमा उद्योग व्यवसाय स्थापना गर्ने कामलाई तीव्रता दिएका छन्, त्यसैगरी एनआरएनहरुले पनि काम गरिरहेका छन् । जस्तो कि, भैरहवा सेजमा अहिले दुई ओटा उद्योगभन्दा बढीलाई स्थान छैन । किनभने त्यो बुक भइसक्यो ।

बेलाबेलामा भन्ने गरिन्छ, व्यक्तिहरु विदेशमा छन्, उनीहरुका आफन्त स्वदेशमा काम गरिरहेका छन् । उद्योग, कलकारखाना चलाइरहेका छन् । कतिपय अवस्थामा पैसा विदेश पठाएर स्वदेशमा लगानी गरिरहेको देखाउने गरेको भन्ने आरोप पनि छ ? यसको वास्तविकता के हो ?

मलाई लाग्छ, यस्तो अवस्था कम छ । मेरै उदाहरण लिनुहुन्छ भने पनि मैले विद्यार्थी भएर पढ्न गएको र काम गर्दा बचेको पैसा त्यहीँ लगानी गरेर व्यवसाय विस्तार गरेको हुँ । आखिर म यहाँबाट विदेश पैसा पठाएर पढ्न सक्ने अवस्था भएको परिवारको व्यक्ति पनि परिनँ । त्यसमाथि यहाँ हुनेहरुले नै बढी आस गर्थे । त्यहाँ लगानी गर्नुभन्दा यता पठाए पनि हुन्थ्यो भन्थे । यदाकदा कोही चाहिँ राम्रो बिजनेसम्यान हुनुहुन्छ र त्यस्तो अवस्थामा फ्यामिलीले सघाएको सुनिन्छ । नभए नेपाली लगानी विदेश गए जस्तो मलाई लाग्दैन ।

हामीकहाँ रेमिट्यान्सको कारोबार बेलाबेलामा घट्छ, बेलाबेलामा बढ्छ । अहिले बढेको छ । केही समयअघि घटेको थियो । यस्तो बेलामा के आशङ्का गरिन्छ भने उता कमाएको पैसा मिलेर उतै राख्ने र यता मिलेर हिसाब सेटल पनि गर्ने बताइन्छ । यसमा यहाँको कस्तो धारणा छ ?

यस्ता प्रवृत्ति छ भने निरूत्साहित गर्नुपर्छ । हामीले विदेशमा पैसा राख्यौं भने त्यसको स्रोत त्यहाँ पनि देखाउनुपर्छ । ग्राहक पहिचान (केवाईसी) लिन एकदमै गाह्रो हुने भएकाले त्यस्तो पैसा राख्न एकदमै कठिन छ । हुन त कतिपय देशमा नियम खुकुलो छ । ती देशमा यस्तो पैसा हुन सक्छ । पैसाको स्रोत नखोजिने ठाउँमा त्यस्तो हुन सक्छ । पछिल्लो समय नेट थ्रु जाने, हेन्ड टू हेन्ड, क्यास टू क्यास पठाउँदा फ्रड भएका घटना पनि छन् । त्यसैले पछिल्लो समय मानिसले वैध किसिमले पैसा पठाउँदै आएका छन् । जापान जस्तो स्ट्रिक मनिटरिङ भइरहेका देशमा पनि यदाकदा यस्तो अवस्था भने देखिन्छ ।

तपाईंहरुले विदेशमा कमाएको पैसा स्वदेश ल्याउनुभएको छ । तर कतिपय अवस्थामा देशभित्रकै लगानीकर्ताले लगानीको कुनै सीमा हुँदैन; यसलाई विदेश लैजान पनि दिनुपर्छ भनेर लबिइङ गरिरहनुभएको हुन्छ । नेपालबाट विदेश लगानी गर्ने बाटो खोल्नुपर्छ भनेर बेलाबेलामा बहस चलिरहेको छ । यसमा एनआरएनएले कस्तो भूमिका खेलिरहेको छ ?

हामी त भन्छौं, विदेशमा लगानी गर्न पाउनुपर्छ । हामीले विदेशमा खर्बपति व्यक्ति जन्माउन सक्यौं भने त्यो राम्रो हुन्छ । नेपालको अर्थतन्त्र एकदमै सानो छ । यहाँ अर्बपति जन्माउन पनि गाह्रो छ । तर एउटा नेपाली उता गएर खर्बपति भयो भने त्यसले केही न केही रुपमा नेपालको विकासमा काम गरिहाल्छ । र यहाँ पनि उसले पक्कै लगानी गर्छ । मानौं, मसँग यहाँ पैसा छ, त्यस्तो अवस्थामा जापानमा मलाई ठूलो अवसर आएको छ । यस्तो अवस्थामा मैले यताको पैसा उता लैजान सकें भने त्यसले मेरो व्यवसाय विस्तारमा सघाउँछ नै, सँगै कालान्तरमा त्यसले देशलाई पनि फाइदा पु¥याउँछ । नेपालमा लगानी नआउनुको कारण एउटा यो पनि हो जस्तो लाग्छ । जस्तो कि, एक पटक लगानी ल्याइसकेपछि त्यसबाट मुनाफा लैजान पनि कठिन छ । यस्ता विविध कारणले गर्दा नेपालमा लगानी आउन सकेको छैन ।

मल्टी मिलेनियर साथीहरु त धेरै छैनन् । तर खातामा हाफ मिलियन रकम राखेर बस्ने साथीहरु थुप्रै छन् । मेरै उदाहरणलाई हेर्नुहुन्छ भने मैले विदेशमा शून्य दशमलव शून्य शून्य दुई प्रतिशत कर तिरेर पैसा राखिरहेको छु । तर मैले नेपालमा पनि त व्यवसाय गरिरहेको छु । तर यहाँ मैले ११ प्रतिशतको ब्याजमा ऋण लिनुपरेको अवस्था छ । मैले आफ्नै पैसा यहाँ प्रयोग गर्न पाएको छैन । यस्तो जटिल समस्याबाट हामी जस्ता व्यक्ति गुज्रिनुपरेको छ । किनभने व्यवसाय हो । तलमाथि हुन्छ । यहाँ पैसा ल्याएँ भने मैले उता आवश्यकता परेको बेला उता लैजान सक्ने अवस्था छैन । मैले एक पटक अस्टे«लियामा केही साथीसँग ५ करोड रुपैयाँ खातामा भएको भेटेको थिएँ । तर त्यो पैसा नेपाल आउन सकेको छैन । सरकारको नीतिगत कमजोरीका कारण यस्तो भएको हो । लगानीमा केही सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो । एनआरएनहरुको हकमा यस्ता विषयमा सरकारले काम गर्नुपर्छ ।
बरु त्यस्तो पैसा सरकारको आफ्नै बैङ्कमा राख्न पाउने व्यवस्था गरिदिओस् । ३ देखि ५ प्रतिशत ब्याज दिओस् । प्रक्रिया थालेको एक महिनाभित्र त्यसलाई झिकेर बाहिर लैजान पाउनुपर्ने व्यवस्था गर्न सके राम्रो हुने थियो ।

तपाईंहरुले यस विषयमा सरकारलाई झकझक्याउनुभएको छैन ?

धेरैपल्टको बसाइमा अर्थमन्त्री र परराष्ट्रमन्त्रीज्यूलाई यस विषयमा हामीले कुरा राखिसकेका छौं । केही समयअघि मकवानपुर उद्योग वाणिज्य सङ्घको साधारणसभाका अवसरमा पनि मैले स्टेजबाटै भनेको थिएँ । यसबाट लाभान्वित हुने भनेको नेपाली जनता नै हुन् । अमेरिकामा मात्र २५ सय, ३ हजारको सङ्ख्यामा नेपाली डाक्टर–इन्जिनियर रहेछन् । उनीहरुको आम्दानी राम्रै हुन्छ । न्यूनतम ब्याजदरमा नेपाल सरकारले कुनै बैङ्कमा उनीहरुको पैसा राखिदिए राम्रो हुने थियो । यसले नेपाललाई पनि फाइदा हुन्छ । र निक्षेपकर्ता व्यक्तिलाई पनि केही लाभ अवश्य नै हुन्छ ।

नेपाल जहिल्यै भर्जिन ल्यान्ड हो । हिजो मायाले मात्रै स्वदेशमा लगानी गर्नेहरु थिए । अहिले यहाँका अवसरलाई देखेर लगानी ल्याउनेहरु बढेका छन् । राजनीतिक स्थिरता भएको छ । यसको म्यासेज विश्वभर गएको छ ।

तपाईंहरु आफ्नै ढङ्गले अघि बढिरहनुभएको छ । एफएनसीसीआई आफ्नै किसिमले अघि बढ्छ । सीएनआईको अवस्था त्यस्तै छ । यस्तो अवस्थामा निजीक्षेत्रका छातासङ्गठन र तपाईंहरु सहकार्य गरेर अघि बढ्न सक्नुहुन्न ? यस्तो पहल त गर्नुभएको देखिँदैन ।

पक्कै पनि त्यसो गर्न सकिन्छ । हामीले आर्थिक सल्लाहकारका रुपमा नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का अध्यक्षलाई राखेका छौं । मिडियासँग पनि टाढा नहोऊँ भनेर साथै पत्रकार महासङ्घका अध्यक्षलाई सञ्चार क्षेत्रमा राखेका छौं । कानुनी रुपमा हामी जानकार हुनुपर्छ भनेर नेपाल बार एसोसिएसनका अध्यक्षलाई समेटेका छौं । स्मार्ट वेको कनेक्टिभिटी यस पटक भएको छ । हाम्रो नेतृत्वमा चाँडै नै सीएनआई, एफएनसीसीआई र चेम्बरलाई समेटेर नेपालसँग भएका अन्तर्राष्ट्रिय सम्झौताहरु जस्तै दोहोरो कर सुविधा, फिट्टा, बिप्पा जस्ता छन् । जस्तो दोहोरो कर सुविधा १० ओटा देशमा मात्रै सम्झौता भएको छ । हाम्रो सञ्जाल ८० भन्दा बढी देशमा छ । ती देशमा पनि यस्ता सम्झौता गर्ने र कार्यान्वयनमा पहलकदमी लिन सरकारलाई सुझाव दिन हामी चार ओटै संस्था मिलेर एउटै आवाज बनाई अघि बढ्छौं । हामीले कस्ता नीतिहरुमा अघि बढ्ने भन्नेमा पनि दुईतीन महिनाभित्रै काम अघि बढ्छ ।

पछिल्लो समय एनआरएनएबाट आएको लगानी जुन रुपमा अहिले देखिएको छ, भविष्यमा यसको अवस्था कस्तो होला ? के भन्नुहुन्छ ?

नेपाल जहिल्यै भर्जिन ल्यान्ड हो । हिजो मायाले मात्रै स्वदेशमा लगानी गर्नेहरु थिए । अहिले यहाँका अवसरलाई देखेर लगानी ल्याउनेहरु बढेका छन् । राजनीतिक स्थिरता भएको छ । यसको म्यासेज विश्वभर गएको छ । हामी प्रधानमन्त्रीज्यूसँग भारत, चीनलगायत मुलुक गयौं । त्यहाँ पनि यस्ता विषयमा प्रचार भयो । लगानीको सङ्केत एकदमै राम्रो छ । तर लगानी भन्दाबित्तिकै आउने कुरा होइन । यसका लागि यहाँको वातावरण सबैभन्दा ठूलो कुरा हो । कस्तो वातावरण भयो भने लगानी आउँछ भन्नेमा सोचविचार गरेर सरकारले काम गर्नुपर्ने आवश्यकता छ । यसका लागि हाम्रा साथीहरु सघाउन तयार पनि हुनुहुन्छ । इन्भेस्टमेन्ट कम्पनी बनाएर लगानी ल्याउनका लागि पनि हामीले पहल गरिरहेका छौं । विदेशमा कम ब्याजदरमा पैसा लिएर यहाँ इन्भेस्टमेन्ट कम्पनी ल्याउन सकियो भने त्यसले नेपालमा विकासका काम गर्न सजिलो हुन्छ ।

मैले विदेशमा शून्य दशमलव शून्य शून्य दुई प्रतिशत कर तिरेर पैसा राखिरहेको छु । तर मैले नेपालमा पनि त व्यवसाय गरिरहेको छु । तर यहाँ मैले ११ प्रतिशतको ब्याजमा ऋण लिनुपरेको अवस्था छ ।

वैदेशिक लगानी फिर्ता लिएर जाने विषय कठिन रहेको र कतिपय अवस्थामा अदालतसम्म पुग्ने उदाहरण पनि छन् ? यसलाई यहाँले कसरी हेर्नुभएको छ ? कहाँनिर समस्या छ ?

यस्ता विषयमा धेरै देशले आफ्नै किसिमको नीति बनाएका हुन्छन् । हामी जस्तो सानो देशमा यसैलाई विभिन्न बहाना बनाएर यहीँ भएको लगानी बाहिर गइदियो भने गाह्रो हुन्छ भनेर त्यसलार्ई कसिएको हुन सक्छ । तर यहाँबाट लगानी बाहिर लैजान पाइन्छ, ल्याउन पनि पाइन्छ भन्ने अवस्था रह्यो भने जानेभन्दा आउने लगानी ठूलो हुन सक्छ । अहिले सेयर बजारमा लगानी बढ्न सक्छ । त्यसैले यस्ता विषयमा शङ्का र डर हटाउनुपर्छ । र ओहोरदोहोरको व्यवस्था सजिलो बनाउनैपर्छ ।

गैरआवासीय नेपाली ऐन आइसकेपछि नेपाली व्यवसायीले पनि आफन्त एवम् छोराछोरीहरुलाई एनआरएन बनाएर विदेश पठाइरहेको अवस्था छ । यसलाई कसरी लिनुहुन्छ ?

यस्तो अवस्था एकदमै न्यून छ । एक प्रतिशत पनि छैन होला सायद । म फेरि पनि भन्छु, हाम्रो चाहना विदेश लगानी लैजान पाउनुपर्छ भन्ने नै हो । बाहिर लगानी लैजान रोक्नुहुँदैन भन्नेमा हामी जोड दिन्छौं । जस्तो कि, एनआरएनएका निवर्तमान अध्यक्ष शेष घले अस्टे«लियन नागरिक हुनुभएको छ । उहाँले उतै कमाएर उतै लगानी गर्नुभएको छ । तर हामीलाई कस्तो लाग्छ भने, उहाँ नेपाली हो । सरकारले उहाँलाई राम्राराम्रा स्किम दियो भने उहाँको लगानी यहाँ तान्न त सक्छ नि । तर यति भनिरहँदा कसैले सरकारलाई छक्याएर लगानी लैजाने मात्र काम गर्छ भने त त्यसलाई नियन्त्रण गर्नुपर्छ । अन्यथा डराउनुपर्ने अवस्था छैन ।

क्यापिटल बिजनेस म्यागजिनबाट