जनवरीमा ९१ हजार ७ सय ९३ पर्यटक भित्रिए

जनवरीमा मात्र ९१ हजार ७ सय ९३ पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये हवाई मार्गबाट ७७ हजार ३ सय र स्थलमार्गबाट १४ हजार ४ सय ९३ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा २५.४ प्रतिशतले बढी हो ।

काठमाडौ । भ्रमण वर्ष २०२० नजिकिएसँगै नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । नेपाल पर्यटन बोर्डले दिएको तथ्याङ्कअनुसार सन् २०१९ को पहिलो महिना उत्साहजनक देखिएको छ ।

जनवरीमा मात्र ९१ हजार ७ सय ९३ पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये हवाई मार्गबाट ७७ हजार ३ सय र स्थलमार्गबाट १४ हजार ४ सय ९३ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा २५.४ प्रतिशतले बढी हो ।

एक महिनामा भारतबाट १४ हजार ६ सय ५० र चीनबाट १३ हजार ६ सय ८८ पर्यटक भित्रिएका छन् । बोर्डका अनुसार भारतीय पर्यटकको आगमन २०.६ प्रतिशतले र चिनियाँको आगमन १४ प्रतिशतले बढेको छ । यस्तै थाइल्यान्डबाट ८ हजार ४ सय ४२, यूएसएबाट ७ हजार २८ र दक्षिण कोरियाबाट ६ हजार ५ सय ८४ पर्यटक नेपाल घुम्न आएका छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्ष २०२० को सुरुमा अन्तर्राष्ट्रिय आगमनमा वृद्धि भएको भन्दै खुसी व्यक्त गरेका छन् ।