सरकारले सर्वसाधारणलाई ४९ प्रतिशतसम्म सेयर दिने, जनताको जलविद्युत आयोजना कार्यक्रम बिहीबारदेखि सुरु हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार जनताको जलविद्युत आयोजना कार्यक्रमको शुभारम्भ गर्ने भएका छन् । यो योजनाअन्तर्गत हालसम्म ३ हजार ३०० मेगावाट क्षमताका १९ जलविद्युत आयोजनामा जनताको लगानी हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता प्रविनराज अर्यालले बताए ।

काठमाडौं । सरकारले जनतालाई सेयर लगानीको अवसर दिएर जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी हुने गरी जनताको जलविद्युत आयोजना कार्यक्रम सञ्चालन हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार जनताको जलविद्युत आयोजना कार्यक्रमको शुभारम्भ गर्ने भएका छन् । यो योजनाअन्तर्गत हालसम्म ३ हजार ३०० मेगावाट क्षमताका १९ जलविद्युत आयोजनामा जनताको लगानी हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता प्रविनराज अर्यालले बताए । यसअघि जारी गरिएको श्वेतपत्रका आधारमा जनतालाई स्वपुँजी (इक्विटी) को ४९ प्रतिशतसम्म सेयर लगानी गर्न दिने उनले जानकारी दिए । जनतामाझ सेयर जारी गरेर जलविद्युत आयोजना बनाइने उनले स्पष्ट पारे ।

सरकारले ३ करोड जनतालाई नै जलविद्युतमा लगानीको अवसर दिएर मुलुकको आर्थिक समृद्धि गर्ने योजना ल्याएको हो । नेपालको पानी जनताको लगानीमा, हरेक नेपाली विद्युतको सेयर धनी कार्यक्रम अभियानको रुपमा जनताको सेयर लगानी हुने अर्यालले बताए । उनले जनताको लगानीमा बन्ने आयोजना थप हुने जानकारी दिए ।

सरकारले जनतको सेयर लगानीबाट ७२५ मेगावाटको अपर अरुण, ४०० मेगावाटको अरुण–, ४०० मेगावाटको तल्लो अरुण, ५०० मेगावाटको किमाथाङ्का अरुण, ४८ मेगावाटको भेरी बबई डाईभर्सन, ५०० मेगावाटको फुकोट कर्णाली र १०१ मेगावाटको तामाकोशी–५ आयोजनामा जनताको सेयर लगानी हुने भएको छ ।

यी सबै आयोजना आकर्षक र नाफामुलक र राम्रो प्रतिफल दिने भएकाले अभियान अन्तर्गत सञ्चालन गरिने भएको हो । राम्रो प्रतिफल दिने आयोजनामा मात्रै जनतालाई सेयर दिने मन्त्रालयको भनाइ छ । आर्थिक रुपमा आकर्षक र जनतालाई प्रतिफल दिने खालका आयोजनामा मात्र सेयर लगानी हुने उनले स्पष्टपारे । हिमालदेखि तराइसम्मका जनतालाई अपनत्व हुने गरी जलविद्युतमा सेयर लगानी दिने योजना ल्याएको हो ।

सरकारले सार्वजनिक तथा निजी साझेदारमा आयोजना निर्माणको तयारी थालेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई सम्बन्धित मुलुकबाटै जलविद्युत आयाजनाको सेयर खरिदका लागि आवेदन दिने व्यवस्था समेत मिलाउने भएको छ ।

पछिल्लो समयमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई अनिवार्य रुपमा १० प्रतिशत दिने व्यवस्था अनुसार अधिकांश आयोजनाले आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर लगानीको अवसर दिएका छन् । सर्वसाधारणलाई पनि न्यूनतम थप १५ प्रतिशत सेयर दिइरहेका छन् ।

पछिल्लो समयमा निर्माण हुने अधिकांश जलविद्युत आयोजनाले सर्वसाधारणलाई सेयर दिने घोषणासमेत गरेका छन् । यस्तै कर्मचारी सञ्चय कोषले पनि संचयकर्ता र जनताको लगानीमा जलविद्युत आयोजना बनाउने भएको छ । उसले ६८८ मेगावाटको वेतन कर्णाली आयोजनाको काम अघि बढाएको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, ५८ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसीलगायत निजी क्षेत्रबाट निर्माण हुने अधिकांश आयोजनाले सर्वसाधारणलाई निष्कासन गरिसकेका छन् ।यो योजना २ वर्षअघि तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माले सुरुवात गरेका हुन् ।