सेयर बजारको सुधार कायम

सेयर बजारमा सुधारको सङ्केत देखिए पनि लगानीकर्तामा सेयर खरिद वा बिक्री गर्ने उत्साह भने बढेको देखिँदैन । सेयर बजार सूचक बढेपछि कारोबार रकममा देखिएको गिरावटले सेयर लगानीकर्ताको मनोबल कमजोर देखिन्छ ।

सेयर बजार बढ्ने क्रमले साताको अन्तिम दिन बिहीबार पनि निरन्तरता पाएको छ । बुधबार साढे एक अङ्कले बढेको सेयर बजार परिसूचक बिहीबार करिब १० अङ्कले बढेको छ ।

निरन्तर घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताका अन्तिम दुई दिन सुधारको गतिमा देखिएको छ । यो साता सेयर बजार १४ सयभन्दा तल अर्थात् १३९० सम्म झरेर पुनः १४ सय नाघेको छ । सेयर बजारमा सुधारको सङ्केत देखिए पनि लगानीकर्तामा सेयर खरिद वा बिक्री गर्ने उत्साह भने बढेको देखिँदैन । सेयर बजार सूचक बढेपछि कारोबार रकममा देखिएको गिरावटले सेयर लगानीकर्ताको मनोबल कमजोर देखिन्छ ।
कारोबार रकममा बुधबारको तुलनामा सुधार आए पनि औसतमा कम हो । बिहीबार नेप्सेमा २८ करोडको मात्र सेयर किनबेच भएको छ । पछिल्ला दिनमा निरन्तर घटेको सेयर बजारको कारोबार रकम पनि दैनिक घटेको छ ।

यो साता नेप्सेमा मङ्गलबार ३२ करोड, बुधबार २६ करोड र बिहीबार २८ करोड रुपैयाँबराबरको मात्र कारोबार भएको छ । बिहीबार कारोबार सुरु हुँदा १३९४.७३ अङ्कमा रहेको नेप्से ९.८० अङ्कले बढेर बन्द हुँदा १४०४.५३ अङ्कमा चढेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अङ्कले बढेको छ ।

नेप्सेका कारोबार भएका बैङ्किङ ८.६१, बिमा ८९.०२, व्यापार ८.२८, होटल २७.३५, जलविद्युत् ६.४१, उत्पादनमूलक समूह ३०.४५, वित्त १.६१ र लघुवित्त समूह २२.४३ अङ्कले बढेका छन् । तर, अन्य १.४५ र विकास बैङ्क समूह ३.०६ अङ्कले घटेका छन् । बिहीबार नेप्सेमा १५९ कम्पनीको ३ हजार ६ सय ७० कारोबारबाट २८ करोड २२ लाख रुपैयाँबराबरको ६ लाख ६२ हजार १ सय ६९ कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम औसत दैनिक कारोबारभन्दा धेरै कम हो ।