भ्रमण वर्ष २०२० का लागि २० गन्तव्य छनौटमा ढिलाइ

भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्य नेतृत्वको समितिलाई सय ओटा गन्तव्यबाट २० ओटा गन्तव्य छनौटका लागि जिम्मेवारी दिइएको थियो । तर, सो समितिले हालसम्म ती गन्तव्य छनौट गर्न सकेको छैन ।

काठमाडौ । भ्रमण वर्ष सन् २०२० लाई लक्ष्य गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २० ओटा गन्तव्य अझै छनौट गर्न सकेको छैन । केही महिनाअघि देशभरबाट मन्त्रालयले सय ओटा नयाँ गन्तव्य छनौट गरी २० ओटालाई विषेश प्राथमिकता दिने तयारी गरेको थियो । यसअघि ती गन्तव्यहरुमा मन्त्रालयले २५/२५ लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।

भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्य नेतृत्वको समितिलाई सय ओटा गन्तव्यबाट २० ओटा गन्तव्य छनौटका लागि जिम्मेवारी दिइएको थियो । तर, सो समितिले हालसम्म ती गन्तव्य छनौट गर्न सकेको छैन ।

गन्तव्य छनौटको जिम्मेवारी पाएका ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले अझै केही दिन लाग्ने बताए । उनले सयबाट ३० ओटासम्म छनौट गरिसकिएको बताउँदै त्यसलाई घटाएर २० ओटामा ल्याउन लागिपरेको बताए ।

सन् २०२० मा २० ओटा नयाँ गन्तव्य छनौट गरी २० लाख पर्यटक भित्र्याउने योजना सरकारको छ । समितिले छनौट गरेका २० ओटा गन्तव्यमा आवश्यक पूर्वधार तत्कालै निर्माण गरिने छ । समितिले छनौट गर्ने २० ओटा गन्तव्यमा आर्थिक प्रस्तावसहित पेस गर्ने तयारी भइरहेको अध्यक्ष दाहालले जानकारी दिए ।

भ्रमण वर्ष सुरु हुन ८ महिना मात्र बाँकी रहँदा पनि समितिले सुस्त रुपमा काम गरिरहेको पर्यटन व्यवसायी कृष्ण अर्यालको आरोप छ । तीव्र गतिमा प्रचारमा लाग्नूपर्ने बेला सचिवालयको कार्यालय, प्रदेश समिति तथा २० ओटा गन्तव्य छनौटमै अल्मलिएको बताए । पर्यटन व्यवसायीहरुको आकाङ्क्षाअनुसार भ्रमण वर्षका कार्यक्रम संयोजकले काम गर्न नसकेको उनको भनाइ छ ।

पर्यटन क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई मन्त्रालयले संयोजक बनाएकै कारण भ्रमण वर्षको तयारी अपुरो भएको पर्यटन व्यवसायी नकुल देवकोटाको आरोप छ । उनले हालसम्म पर्यटन व्यवसायीलाई समन्वय नगरेको बताए ।

यो पनि पढ्नुहोस्

२० लाख पर्यटक ल्याउने भ्रमण वर्ष २०२० को छैन कार्यालय

भ्रमण वर्ष २०२० को प्रदेश समिति पनि गठन भएन

सय गन्तव्यका लागि २५ करोड रकम विनियोजन