गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम डेढ महिनाभित्र सकिने

धावनमार्गको काम हालसम्म २ हजार ७०० मिटर कालोपत्रे भइसकेको छ । विमानस्थलमा ३ हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग निर्माण भइरहेको छ ।

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले अबको ढेड महिनाभित्रमा काम सकिने बताए ।

धावनमार्गको काम हालसम्म २ हजार ७०० मिटर कालोपत्रे भइसकेको छ । विमानस्थलमा ३ हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग निर्माण भइरहेको छ ।

आगामी सेप्टेम्बरभित्रमा सञ्चालनमा ल्याउने तयारीका साथ काम अघि बढिरहेको सो विमानस्थलको बिल्डिङ फिनिसिङ भइरहेको छ भने कन्ट्रोलर टावरकोे काम अन्तिम चरणमा पुगेको छ । आठ तलाको बन्ने सो टावरको सातौं तलाको काम सम्पन्न भइसकेको छ ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरी सञ्चालनमा ल्याउन लागिएको विमानस्थलको हालसम्म ६७ प्रतिशत भौतिक संरचनाको काम सकिएको छ । कम्बोडियाले गौतमबुद्ध विमानस्थलमा सीधा हवाई उडान गर्ने इच्छा व्यक्त गरेअनुसार मङ्सिर १३ गते हवाई सम्झौता भएको थियो । कम्बोडियामा सबैभन्दा बढी बौद्ध धर्मावलम्बीहरुको बसोवास रहेका कारण गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा जाने पर्यटकलाई लक्ष्य गरी हवाई उडान गर्ने तयारी गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चरणमा साना र ठूला गरी ५ ओटा जहाज अट्ने क्षमता हुनेछ ।

त्यसैगरी अन्तर्राष्ट्रियतर्फ चारओटा र आन्तरिकतर्फ दुइटा पार्किङ वे निर्माण गर्ने गरी काम भइरहेको उनको भनाइ छ । यस्तै हाल सञ्चालनमा रहेको एक हजार ५०० मिटरको रनवेलाई ट्याक्सी वेमा परिणत गर्ने तयारी भइरहेको छ ।

यसैबीच विमानस्थलले चालू वर्षमा विनियोजन भएको बजेट ६ महिनामै खर्च गरेपछि अर्थ मन्त्रालयले थप ४ अर्ब रुपैयाँ बजेट रकमान्तर गरिदिएको छ ।

दुई शीर्षकबाट उक्त परियोजनाको मुआब्जा वितरणका लागि ४ अर्ब रकामान्तर गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । जग्गाको मुआब्जासमेत गरी २३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनाले हालसम्म १४ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । विमानस्थलको निर्माण कार्य चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टले ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँमा गरिरहेको छ ।