बुद्धि पुर्याएर मात्रै लगानी

प्राइमरी मार्केटमा लगानी गर्ने अधिकांश लगानीकर्ताले आफन्त, मित्र तथा सामान्य चिनजानका मान्छेले दिएका टिप्स (जानकारी) लाई आधार बनाएका हुन्छन् । वास्तवमा यो उचित होइन ।

इनिसियल पब्लिक अफरिङ (आईपीओ) एउटा यस्तो सेयर इस्यु हो, जसमा कम्पनीले सर्वसाधारणका लागि पहिलो पटक स्टकको बिक्री गर्छ । सेयर बजारमा जब भ्यालुएसन बढ्न थाल्छ, तब जोखिम पनि वृद्धि हुन्छ । प्राइमरी मार्केटमा पनि यस्तो हुन्छ । कतिपय लगानीकर्तालाई लाग्न सक्छ, प्राइमरी मार्केट सेकेन्डरी मार्केटभन्दा सुरक्षित हुन्छ । किनकि, यसमा लगानीकर्तालाई सम्बद्ध कम्पनीबाट सीधै सेयर प्राप्त हुन्छ । तर, लगानीकर्ताले के बिर्सनुहुन्न भने प्राइमरी मार्केट भनेको पनि सेयर बजारकै एक हिस्सा हो । यसकारण त्यसमा पनि मार्केटसम्बन्धी जोखिम जोडिएको हुन्छ ।

आईपीओ गर्ने कम्पनीहरु लगानीकर्तामा निहित कम जागरुकताको फाइदा उठाउने प्रयत्नमा रहन्छन् । आईपीओले सेयर बजारमा एक प्रकारको तरङ्ग पैदा गरिदिने काम गर्छ । अधिकांश कम्पनीहरु आईपीओ जारी गर्ने समयमा लगानीकर्तामा ठूलो विश्वास पैदा गर्ने प्रयासमा रहेका हुन्छन् । यही कारण पनि कतिपय कम्पनीका आईपीओ बजारमा आउने बखत लगानीकर्ताको ठूलो भीड लागेको देखिन्छ । भलै, त्यो कम्पनीको भ्यालुएसन छोटो समयमै कमजोर हुँदै किन नजाओस् ! यसकारण पनि लगानीकर्ताले सधैँ सावधान रहनुपर्छ ।

हिजोआज बजारमा दुई प्रकारका कम्पनी दृश्यमा छन् । पहिलो वर्गमा यस्ता कम्पनी छन्, जसको फन्डामेन्टल्स मजबुत छ । यी कम्पनीहरु उच्च मूल्यका सेयर जारी गर्ने गर्छन् । दोस्रो वर्गका कम्पनीको फन्डामेन्टल्ली कमजोर हुने गर्छ । तर पनि तिनले उच्च मूल्यमा सेयर जारी गर्ने प्रयास गरिरहेका हुन्छन् । सेयर विश्लेषकहरुको मतमा उच्च मूल्यका सेयर खरिद गर्दा सावधान रहनुपर्छ । पहिलो वर्गका कम्पनीमा लगानी गर्दाको अनुभवले के बताउँछ भने बुल फेजको शीर्ष स्थानमा आईपीओ जुन मूल्यमा आउँछ, त्यहाँसम्म पुग्नका लागि उक्त कम्पनीलाई केही वर्ष लाग्न सक्छ । कतिपय अवस्थामा त यस्तो पनि हुन सक्छ, त्यस लेभलमा पुग्न नै सक्दैन ।

प्राइमरी मार्केटमा लगानी गर्ने अधिकांश लगानीकर्ताले आफन्त, मित्र तथा सामान्य चिनजानका मान्छेले दिएका टिप्स (जानकारी) लाई आधार बनाएका हुन्छन् । वास्तवमा यो उचित होइन । तपाईं यदि सेयर बजारबारे आफंै एनालिसिस गर्न सक्नुहुन्न भने परिचित तथा विश्वसनीय रिसर्च हाउसको मद्दत लिनुहोस् । यद्यपि, पछिल्लो समय यो काम पनि उतिविधि सजिलो देखिँदैन । प्रायः रिसर्च हाउसले मिडियमदेखि लङ टर्मवाला कम्पनीको सेयरमा लगानी गर्ने सल्लाह दिने गर्छन् । कतिपय रिसर्चर त जब सेयर बजार उकालो लागिरहेको हुन्छ, तब लगानी गर्न सल्लाह नै दिँदैनन् । कुनै दिन त्यस कम्पनी ओरालो लाग्ने तिनको आशङ्का हुन्छ । यसकारण पनि लगानीकर्ताले रिसर्चर छान्दा पनि भीडको पछि नलाग्नेलाई छान्न सक्नुपर्छ । गम्भीर रिसर्चर जो भीडको पछि लाग्दैन, उसले लगानीकर्तालाई कुनकुन इस्यूबाट टाढा रहनु उचित हुन्छ भनेर सल्लाह दिइरहेको हुन्छ ।
कतिपय यस्ता लगानीकर्ता पनि देखिन्छन्, जो ‘ग्रे मार्केट प्रिमियम’का आधारमा पैसा लगाउने फैसला गर्छन् । तर, ग्रे मार्केट प्रिमियम सेकेन्डरी मार्केटको मुडसँग जोडिएको हुन्छ भन्ने कुरा तिनले बिर्सन्छन् ।

फन्ड म्यानेजरहरुको एनालिसिस क्षमता राम्रो हुन्छ । यसकारण पनि अन्य रिसर्चरभन्दा फन्ड म्यानेजरमाथि भरोसा गर्न सकिन्छ । सरकार बन्ने र गिर्ने नेपालजस्तो राजनीतिक अस्थिरता भएको मुलुकमा लगानीकर्ता झनै गम्भीर हुनु आवश्यक छ । सेयर बजारको आँगनमा सधैँजसो राजनीतिक छायाँ प्रभावी हुँदै आउनु मनासिब मान्न सकिँदैन । सीमित व्यक्तिको लहैलहैमा सेयर बजारमा असर पर्नाले पनि नयाँ लगानीकर्ता यस क्षेत्रमा आकर्षित हुन सकिरहेका छैनन् ।

(नवभारत टाइम्समा प्रकाशित नरेन्द्र नाथनको लेखमा आधारित)