केही समयअघि मात्रै पोखरा घुम्न आएका फिलिपिनो राजकुमारी मारिया अमोरले पनि पोखराको सुन्दरताको खुलेरै प्रशंसा गरे ।
चिप्लेढुङ्गा ः ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया जीवन मेरो सेती बगर विना तिम्रो माया’ (दिनेश सुब्बा, शम्भुजीत बाँस्कोटा, प्रकाश श्रेष्ठ) पत्रकार मोहन मैनालीले एक प्रसङ्गमा भनेका थिए, ‘प्रकृतिले भएभरको सुन्दरता पोखरालाई खन्याइदिएको छ ।’ केही समयअघि मात्रै पोखरा घुम्न आएका फिलिपिनो राजकुमारी मारिया अमोरले पनि पोखराको सुन्दरताको खुलेरै प्रशंसा गरे ।
पोखरा अधिकांश सर्वसाधारण, कलाकार, नेता व्यापारी, कर्मचारी, विद्यार्थी, कविलेखक सबै सबैको प्रमुख रोजाइको शहर पनि हो । पक्कै पनि पोखरा आउने जो कोहीका लागि पोखराको प्राकृतिक सुन्दरता अवर्णित नै हुन्छ ।
अमेरिकी फिल हुलवर्क वर्षमा तीन महिना पोखरामा बिताउने गर्नुहुन्छ । ‘पोखराको सुन्दरताले म जहिल्यै मोहित हुन्छु । जति घुमे पनि जति डुले पनि पोखराले लोभ्याइरहन्छ ।’ हुलवर्क भन्छन’ ‘हिमाल र तालहरु मलाई असाध्यै मन पर्छ, होटलका झ्यालबाट देखिने हिमाल कम लोभलाग्दो छैन ।’
नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा नेपाल आउने ६० प्रतिशत पर्यटक भित्रिने गरेकोे अनुमान गरिन्छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ देखि हवाई मार्ग र स्थलमार्गबाट आउने पर्यटकको सङ्ख्यालाई अभिलेख गर्न शुरु गरेको छ । मन्त्रालयको तथ्याङ्कानुसार स्याङ्जाको गल्याङ, आँबुखैरेनी र नागरिक उड्डयन कार्यालय पोखराबाट प्राप्त तथ्याङ्कानुसार भारत र अन्य देशबाट आउने पर्यटकको आर्थिक वर्ष २०७५ ÷७६ साउनदेखि पुससम्मको सङ्ख्या एक लाख ७६ हजार ५६१ छ ।
पोखराको सौन्दर्यमा जोडिएको विशेष पक्ष भनेकै हिमाल र ताल हो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी भन्छन, ‘फेवातालमा छर्लङ्ग हिमाल देखिने दुर्लभ दृश्य सम्भवतः विश्वमा कहीँ कतै छैन । यो पोखराको अर्को सुन्दर पक्ष हो’ , मुल्मी भन्छन्, ‘भूगर्भबाट कलकल गर्दै बग्ने सेती, उत्तरतर्फ देखिने माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरि हिमशृङ्ला अनि नौ ताल (फेवा, रुपा, वेगनास, गुँदे, दिपाङ, खास्टे, निउरेनी, मैदी र कमलपोखरी) ले सिंँगारिएको पोखरा उपत्यकामा शान्ति स्तूप, पातले छाँगो(डेभिज फल्स), गुप्तेश्वर गुफा, चमेरे गुफा, महेन्द्र गुफा, विन्ध्यवासिनी आदि आकर्षण हुन् ।’
साहसिक खेलमार्फत मनोरञ्जन लिन चाहनेहरु प्याराग्लाइडिङमार्फत आकाशमा चराझैँ उडेर मज्जा लिने गर्छन् । हिमशृङ्खलाहरुलाई नजीकैबाट छुन खोज्नेहरु अल्ट्रालाइट चढेर रमाउने गर्छन् । क्यानोनिङ, जीप फ्ल्यायर, हट बेलुनसँगै मज्जा लिन चाहनेहरुलाई पनि पोखराले सधैँ स्वागत गर्छ ।
हिमालदेखि बग्दै आएको पानी केआइसिंह पुलमा स्पर्श गर्न पाइन्छ । अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय (रातोपैरो)ंमा हिमाल आरोहणदेखिका विभिन्न दृश्य र सामग्रीको सङ्ग्रह हेर्न पाइन्छ । न धेरै जाडो न धेरै गर्मी । उस्तै मिलेका घर, उस्तै मिलेको बस्ती र उस्तै मिलेको मनले पनि पोखरा सिंँगारिएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा विभिन्न बृहत् योजनाका पूर्वाधार बनिरहेका छन् । पञ्चासे केबुलकार, पुम्दीकोटमा विशाल महादेवको मूर्ति बन्दै छ । त्यसै गरी काहँुडाँडामा आधुनिक धरहरासहित बुद्धको विशाल मूर्तिसँगै यशोधरा उद्यानको निर्माण तयारी भइरहेको छ । सराङकोट, काहुँ, घान्द्रुक, सिक्लेस, धम्पुस, पञ्चासे, ताङ्तिङजस्ता सुन्दर ग्रामीण बस्तीले पनि ग्रामीण पर्यटनलाई प्रवद्र्धन गरिरहेको छ । कपुचे तालले पछिल्लो समय पर्यटकलाई लोभाइरहेको छ ।
प्रकृतिको अनुपम वरदान पाएको पोखराको यो सुन्दरता बेचेर नै पोखरेली बाँचेका छन् । यी यावत् कुरा बीच अब पोखराको सुन्दरता जोगाउने चुनौती पनि थपिँदै गएको मुल्मी बताउछन् । आँखामा राखे पनि नविझाउने पोखराको सुन्दरता मासिँदै छ । बढ्दो प्रदूषण र शहरीकरणसँगै बढ्दो अव्यवस्थित संरचना, मासिँदै गएका तालतलैया सिमसार, सडक सञ्जालको अवस्था, अव्यस्थित विज्ञापनपाटी र जेलिएर यत्रतत्र छरिएका तारहरुले पोखराको सुन्दरतालाई कुरुप बनाइरहेको छ ।
पर्यटनको बृहत् सम्भावना बोकेको पोखराको सुन्दरता जोगाउन विकल्प अघि सार्नुपर्ने मुल्मीको भनाइ छ । “हामी भाग्यमानी हाँै, पोखराजस्तो शहर पाएका छौँ, हामीले थप केही गर्न नसके पनि यसको प्राकृतिक सुन्दरतालाई जोगाउन सक्नुपर्छ । यसको संरक्षण र व्यवस्थित बस्तीका लागि अब दीर्घकालीन लक्ष्यसहित दिगो विकासको अवधारणा अगाडि सार्नुपर्छ” उनले भने ।
प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रका विविध योजना र कार्यक्रम छुट्टाएको छ । प्रदेश सरकारले सन् २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’, २०२० लाई ‘छिमेकी देश पर्यटन वर्ष’ र सन् २०२२ लाई ‘पोखरा पर्यटन वर्ष’ मनाउने तयारी गरिरहेको छ । नयाँ अभ्यासको सङ्घीयतामा देखिएको अन्योल हटाएर दिगो विकास र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने प्रयासको थालनी गर्न अब ढिलाइ गर्न नहुने मुल्मीको भनाइ छ ।
नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समितिका सदस्य वासु त्रिपाठी पोखराको प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक क्षेत्रको संरक्षण गर्दै नयाँ सम्भावना भएका स्थानको खोजी महत्वपूर्ण हुने बताउँछन। पोखराको प्राकृतिक सुन्दरता जोगाएर पर्यटक जाने स्थलसम्म सडक, हवाई तथा होटल रेष्टुरेन्ट, घरबासलगायत सुविधालाई पनि विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
पर्यटकको बसाइ लम्बाउन पदयात्रा मार्गलाई संरक्षण गर्नुपर्ने र एक्यापले दिँदै आएको अनुमतिपत्रलाई बहुप्रवेशीपत्र बनाउनुपर्ने त्रिपाठी बताउँछन ।पोखरा बृहत् सरसफाइ अभियानकर्मी एवं राष्ट्रिय संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेल सफा र हरियाली वातावरणमैत्री शहरका रुपमा पोखराको सुन्दरतालाई जोगाइराख्नुपर्ने बताउँछन् ।
निरन्तर १४२ औँ हप्ताको सफाइ अभियानबाट पोखराको सुन्दरता जोगाउन सक्रिय पौडेल सार्वजनिक हितभन्दा व्यक्तिगत हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्दा पोखराले आफ्नो सौन्दर्यको परिचय गुमाउँदै गएको बताउँछन् ।रासस