विमानस्थलले बक्यौता रकम उठाउनका लागि ताकेता गरिरहँदा एयरलाइन्सले पटकपटक म्याद थप गर्दै आएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले १ महिनाभित्र सेवा शुल्क नतिरे जहाज ग्राउन्डेड गर्ने चेतावनी दिँदै आएका छन् ।
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई २० करोडभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको हिमालय एयरलाइन्सले आफूसँग रहेका दुई जहाज ओमानको बजेट एयरलाइन्स सलाम एयरलाई भाडामा दिने अन्तिम तयारी गरेको छ ।
गम्भीर आर्थिक सङ्कटबाट गु्रजिएको हिमालय एयरलाइन्सले एक वर्षदेखि विमानस्थल कार्यालयको बक्यौता रकम तिरेको छैन । तिब्बत एयरलाइन्स र नेपालका पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायतको संयुक्त लगानीमा सञ्चालनमा रहेको हिमालय एयरलाइन्सले बक्यौता रकम नतिरी जहाज भाडामा ओमान पठाउने तयारी गरेको हो ।
हिमालयसँग भएको दुई जहाजलाई ओमानको सलाम एयरलाई भाडामा दिने विषयमा कुराकानी भइरहेको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । ‘भाडामा दिन हामीले प्रक्रिया पनि थालेका छौं,’ उनले भने । भाडामा दिने विषय र बक्यौता तिर्ने विषय फरक भएकाले बक्यौता रकम तिर्नकै लागि भाडामा दिन लागिएको उनले बताए ।
हिमालय एयरले सलाम एयरलाई भाडा दिने जहाजका विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरणमा निवेदन दिइसकेको छ । हिमालयले एउटा जहाज सलामलाई भाडा दिनका लागि प्राधिकरणलाई निवेदन दिएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले क्यापिटल नेपाललाई बताए । ‘हिमालयले दुई जहाज नै भाडामा दिने तयारी थालेको छ । तर दुई जहाज भाडामा दिँदा सेडुअल उडानमा प्रभावित हुन्छ,’ उनले भने । त्यही भएर अहिले एउटाका लागि निवेदन आएको उनले बताए ।
हिमालयले सलामबाट पाउने भाडा रकम बक्यौतामा कटाउने गरी सम्झौता छ, त्यसैले बक्यौता रकम पनि उड्ने गौतमले बताए । सन् २०१४ मा स्थापना भएको हिमालयसँग तीन ओटा ए ३२० एयरबस विमान सञ्चालनमा छन् । एयरलाइन्सले अहिले मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको दमाम, यूएईको दुबई र कतारको दोहामा नियमित उडान गर्दै आएको छ ।
विमानस्थलले बक्यौता रकम उठाउनका लागि ताकेता गरिरहँदा एयरलाइन्सले पटकपटक म्याद थप गर्दै आएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले १ महिनाभित्र सेवा शुल्क नतिरे जहाज ग्राउन्डेड गर्ने चेतावनी दिँदै आएका छन् ।
एयरलाइन्स आर्थिक सङ्कटमा परेसँगै तिब्बत एयरलाइन्सले चीनमा १ करोड डलर ऋणका लागि प्रक्रिया थालेको समेत प्राधिकरणलाई जानकारी गराएको थियो ।