एट्लेटिकोले युभेन्टसलाई हरायो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडसँग युभेन्टस २-० ले पराजित भएको छ।

एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले अधिकांश समय बल नियन्त्रण गरे पनि गोल गर्ने केही राम्रा अवसर पाए पनि गोल गर्न नसक्दा हार ब्यहोर्नु पर्‍यो।

पहिलो हाफ गोलरहित सकिएको खेलको दोस्रो हाफमा एट्लेटिकोले दुवै गोल गरेको थियो ।

खेलको ७८ औं मिनेटमा जोसे जिमिनेजले गोल गर्दै घरेलु टोलीलाई सुरूवाती अग्रता दिलाए। त्यसको ५ मिनेटमा नै कप्तान डिएगो गोडिनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे।

त्यसअघि अल्भारो मोराटले खेल बराबरीमा रहँदा गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता दिएको थिएन।

यस नतिजासँगै एथलेटिकोले घरेलु मैदानमा युईएफए च्याम्पियन्स लिगको नकआउट खेलमा अपराजित यात्रा कायमै राखेको छ। युभेन्टसले एटलेटिकोविरुद्ध च्याम्पियन्स लिगको खेलमा गोल गर्न सकेको छैन। दोस्रो लेग मार्च १२ मा युभेन्टसको घरेलु मैदानमा हुनेछ।