शाल्केमाथि १० खेलाडीमा सिमित म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

म्यान्चेस्टर सिटीले अत्यान्त प्रतिश्पर्धात्मक खेलमा एफसी साल्केलाई ३-२ गोल अन्तरमा हराएको छ।

शाल्केको मैदानमा १० खेलाडीमा सिमित सिटीलाई जित दिलाउन सर्जियो अग्यूरो, लोरी साने र रहिम स्ट्रलिङले एक एक गोल गरे । शाल्केका नबिल बेन्टालेबले दुवै गोल पेनाल्टीमा गरे।

१० खेलाडीमा समेटिएको सिटीको जितमा रहिम स्ट्रलिङले निर्णायक गोल गरेका थिए।

खेलको १८ औं मिनेटमा सर्जियो अग्यूरोको गोलबाट सिटीले सुरूवाती अग्रता लियो।

तर, खेलको ३८ औं मिनेटमा साल्केले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्यायो। उसका लागि बेन्टालेबले गोल गरे।

त्यसपछि ४५ औं मिनेटमा फेरि सिटीका खेलाडीले फल गर्दा साल्केले अर्को पेनाल्टी पायो। यसपटक पनि बेन्टालेबले गोल गर्दै खेलमा २-१ को अग्रता लियो।

एक गोलले पछि परेको सिटीका निकोलस ओटामेन्डी खेलको ६८ औं मिनेटमा दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिए।

त्यसपछि दश खेलाडीमा समेटिएको सिटीले केही राम्रा अवसरहरू सृजना गर्‍यो। खेलको ८५ औं मिनेटमा सब्सिच्युट खेलाडी लिरोय सानेले गोल गर्दै सिटीलाई खेलमा फर्काए।

९० औं मिनेटमा रहित स्ट्रलिङले गोल गर्दै सिटीलाई पहिलो लेगमा महत्वपूर्ण जित दिलाए।

जितसँगै सिटीले लिगको अन्तिम आठमा स्थान बनाउने सम्भावना बलियो बनेको छ । सिटीले अब घरेलु मैदानमा दोस्रो लेग खेल खेल्नेछ ।