काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत एशिया क्षेत्रीय प्रतियोगितामा थाइल्यान्डले नेपाललाई १२५ रनको लक्ष्य दिएको छ ।
बैंककमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोट अन्तर्गत बिहिबार टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले ७ विकेटको क्षतिमा १२४ रन बनाएको हो। उसका लागि चनिदा सुथिरङले ३५, नरुमोल चाइवाइले ३२ र वाङपाका लिङप्रसर्टले २७ रन बनाइन्।
नेपालका लागि कविता कुँवर र नेरी थापाले दुई/दुई विकेट लिँदा कप्तान रूविना क्षेत्री र करूणा भण्डारीले एक/एक विकेट लिए ।
सन् २०२० मा हुने टी–२० महिला विश्वकप र २०२१ मा हुने एकदिवशीय गरी दुवै विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्न बिहीबारको खेल दुवै टोलीका लागि निर्णायक जस्तै हुनेछ। प्रतियोगिताका लागि दुबै टोलीलाई दाबेदारका रूपमा हेरिएको छ।
यही प्रतियोगिताको तयारीका लागि गत महिना आयोजना भएको थाइल्याण्ड महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल थाइल्याण्डसँग ७० रनले पराजित भएको थियो।
प्रतियोगिताको पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको नेपालले ब्याटिङमा ५ विकेट गुमाएर १२६ रन बनाएको थियो ।
पहिलो खेलमा घरेलु टोली थाइल्याण्डले भने वर्षाले प्रभावित खेलमा चीनलाई ६ विकेटले हराएको थियो।