एओसी छिटो दिलाउन चीनका राजदूतसँग पर्यटनमन्त्रीको आग्रह

मन्त्रालयमा बिहीबार भएको भेटमा मन्त्री अधिकारीले निगमले चीनमा उडानका लागि आवश्यक प्रक्रिया गरिसकेको अवस्थामा एओसी पाउन ढिलाइ भएकोप्रति राजदूत यान्छीलाई जानकारी गराएका थिए ।

काठमाडौं । चीन उडानको तयारी गरिरहेको नेपाल वायुसेवा निगमलाई उडान अनुमति (एओसी) दिन ढिलाइ गरिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपालका लागि चीनका राजदूत होउ यान्छीलाई आग्रह गरेका छन् ।

मन्त्रालयमा बिहीबार भएको भेटमा मन्त्री अधिकारीले निगमले चीनमा उडानका लागि आवश्यक प्रक्रिया गरिसकेको अवस्थामा एओसी पाउन ढिलाइ भएकोप्रति राजदूत यान्छीलाई जानकारी गराएका थिए ।

निगमले फागुनभित्र चीनको गोन्जाओमा उडान गर्ने तयारी गरेको थियो ।

यो पनि पढ्नुस्  जापान र चीन उडानका लागि एओसी पर्खिंदै नेपाल एयरलाइन्स 

तर चीनले एओसी नदिएकै कारण उडान गर्न नपाएको भन्दै मन्त्री अधिकारीले राजदूतसमक्ष पहल गरिदिन अनुरोध गरेका हुन् । यस्तै भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने नेपालको तयारी रहेको भन्दै चीनबाट जतिसक्दो धेरै पर्यटक भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्न मन्त्री अधिकारीले उनलाई आग्रह गरेका छन् ।

मन्त्री अधिकारीसँगको भेटमा राजदूत यान्छीले निगमलाई एओसी दिलाउन सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता जनाएकी छन् । उनले पर्यटनमन्त्री अधिकारीले राखेको प्रस्ताव तत्कालै चीनका सम्बन्धित निकायलाई जानकारी गराउने आश्वासनसमेत दिएकी छन् ।