निगमले सिनियर क्याप्टेन १३, जुनियर क्याप्टेन १५, सिनियर को–पाइलट ९ र जुनियर को–पाइलट १३ जना माग गरेको छ । यस्तै प्रशासनमा ५२ जनाका लागि आवेदन खुला गरेको छ ।
काठमाडौं । पाइलट अभावकै कारण आन्तरिक एवम् बाह्य उडान गर्न नसकेको आरोप लागिरहेका बेला नेपाल वायुसेवा निगमले एकै पटक ५० जना पाइलट भर्ना गर्ने भएको छ । निगमले शुक्रबार सूचना प्रकाशन गरी ५० जना पाइलटका लागि आवेदन खुला गरेको हो ।
निगमले सिनियर क्याप्टेन १३, जुनियर क्याप्टेन १५, सिनियर को–पाइलट ९ र जुनियर को–पाइलट १३ जना माग गरेको छ । यस्तै प्रशासनमा ५२ जनाका लागि आवेदन खुला गरेको छ ।
पाइलट नभएकै कारण चार ओटा वाई–१२ ग्राउन्डेड भएका छन् । निगमको वाई–१२ जहाज उडान गरिरहेका उद्धव घिमिरेलाई ए ३२० जहाजको उडान तालिममा पठाएसँगै ४ ओटै वाई–१२ ग्राउन्डेड भएका हुन् । घिमिरेलाई उडान प्रशिक्षणमा पठाउने निर्णय गरेसँगै चारै ओटा चिनियाँ जहाज वाई–१२ ग्राउन्डेड भएका हुन् ।
सिनियर पाइलट सञ्जय बादे र नेपेन्द्र भट्टराईले आफूभन्दा जुनियर पाइलटलाई ए–३२० को प्रशिक्षणमा पठाएको भन्दै बिरामी बिदामा बसेका छन् । यस्तै अर्का पाइलट आङ नुरी शेर्पाको सीप परीक्षण प्रमाणपत्र ( पीपीसी) को म्याद सकिएपछि जहाज उडान गर्न पाएका छैनन् ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आन्तरिक रुपमा पाइलट मिलाउन नसकेको र पाइलट अभाव भएकै कारण सबै जहाज एकै पटक उडाउन समस्या भएकाले पाइलटका लागि आवेदन खुला गरेको जानकारी दिए । उनले ५० जना पाइलटको नियुक्तिपछि निगममा जहाज उडान समस्या नहुने बताउँदै आन्तरिक र बाह्य उडानमा एग्रेसिभ भएर लाग्ने बताए ।