जहाज मर्मतका लागि आह्वान गरिएको टेन्डरको म्याद शुक्रबार १२ बजेसम्म थियो । सो टेन्डर शुक्रबार नै खोल्ने तयारी गरिरहेका बेला लेखा समितिले केही अध्ययन गर्न बाँकी रहेको भन्दै स्थगन गर्न सभापति भरतकुमार शाहले निर्देशन दिएका हुन् ।
काठमाडौं । नेपाल वायुसेवा निगमले एयरबस ३२० को मर्मत गर्न आह्वान गरेको टेन्डर तत्कालका लागि स्थगित भएको छ । सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकले टेन्डर स्थगित गर्न निर्देशन दिएको हो ।
लेखा समितिको निर्देशनलगत्तै निगमले टेन्डर स्थगित गरिएको कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । जहाज मर्मतका लागि आह्वान गरिएको टेन्डरको म्याद शुक्रबार १२ बजेसम्म थियो । सो टेन्डर शुक्रबार नै खोल्ने तयारी गरिरहेका बेला लेखा समितिले केही अध्ययन गर्न बाँकी रहेको भन्दै स्थगन गर्न सभापति भरतकुमार शाहले निर्देशन दिएका हुन् ।
एयरबस मर्मतका लागि यसअघि सार्वजनिक गरिएको टेन्डर रद्द गरेको विषयमा उजुरी परेको र छानबिनका लागि केही समय लाग्ने भएकाले समितिले शुक्रबार खोल्ने भनिएको टेन्डर खोल्न नहुनेमा जोड दिएको थियो । निगमले २०१८ को मे १८ मा पहिलो टेन्डर रद्द गरेको थियो । पहिलो टेन्डर रद्द गरेको भन्दै लुफ्थान्सा टेक्निकले छानबिनका लागि लेखा समितिमा उजुरी हालेको थियो । लुफ्थान्साको उजुरीका आधारमा समितिले कार्यकारी अध्यक्ष खरेललाई छलफलका लागि बोलाएको थियो ।
सांसदहरुको प्रश्नमा अध्यक्ष खरेलले जहाज मर्मत तथा इन्जिनको भाडाका लागि महाप्रबन्धकले निर्णय गरेर टेन्डर आह्वान गरेको र केही त्रुटि रहेका कारण रद्द गरेर पुनः अर्को टेन्डर आह्वान गरिएको बताए । उनले इन्जिन मर्मत र भाडामा लगाउने विषय एकै संस्थाले गर्न नसक्ने देखिएकाले छुट्टाछुट्ै टेन्डर आह्वान गरिएको जानकारी दिए ।
पहिलाको टेन्डरमा उजुरीकर्ताले मर्मतसम्भारको मात्र काम गर्न सक्ने र इन्जिन भाडामा लिन नसक्ने उल्लेख गरिएका कारण उसलाई सहभागिता नगराइएको बताए ।
कार्यकारी अध्यक्ष खरेलको जवाफ चित्त बुझ्दो नभएकै कारण टेन्डर स्थगन गरी केही दिन छलफल गर्न आवश्यक रहेको समितिका सदस्य विरोध खतिवडाले सभापतिको ध्यानाकर्षण गराएका थिए ।
टेन्डर स्थगन भएपछि एयरबस ३२० तत्काल मर्मतसम्भार गर्नुपरेमा समस्या पर्ने निगमका अधिकारीहरुको भनाइ छ ।