एनसेल गेटमा बम विस्फोटका घाइते मध्ये एककाे मृत्यु, दुईकाे उपचार हुँदै

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि शुक्रबार राति भएको बम विस्फोटमा घाइते भएका मध्ये एकजनाको मृत्यु भएको छ।

लमजुङ घर भई ललितपुरको भैसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।

अस्पतालका अनुसार गुरूङको राति साढे १ बजेतिर मृत्यु भएको हो।  घाइते गुरुङको दुवै खुट्टा चुँडिएको, कम्मरका हड्डीहरु भाँचिएका र रगत बग्ने ठूला नशाहरु काटिएको पाइएको अस्पतालले जनाएको छ। अत्याधिक रक्तश्राबका कारण उनलाई बचाउन नसकिएको अस्पतालले स्पष्ट पारेको छ।

घाइते गुरुङलाई सुरुमा अल्का अस्पताल लगिएको, त्यसपछि बीएन्ढ बी हुँदै अन्तिममा मेडिसिटी अस्पताल लगिएको थियो।

घटनामा ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको छ।

शुक्रबार करिब साढे आठ बजे नख्खुस्थित एनसेल गेटमा बम विस्फोट भएको हो। महानगरीय प्रहरी परिसरका एसएसपी रबिन्द्रबहादुर धानुकका अनुसार बम बिष्फोट गराउने घटनामा संलग्नको खोजी भइरहेको बताए। बम विस्फोट कसले र किन गराएको भन्नेबारे खुलेको छैन।